काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि सरकारले कठोर कदम चालेको बताएका छन् । उनले मंगलबारको मन्त्रिपरिषद बैठकका निर्णय गहिरो भएको पनि बताए । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने जिम्मा दिने निर्णय गरेका थिए ।
यो निर्णयप्रति लक्षित गर्दै बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि केही कठोर कदम चालिएको छ । म अहिले व्याख्या गर्दिनँ । हिजोको मात्रै क्याबिनेटको निर्णय तपाईंहरूले हेर्नुहोला । कुरो गहिरो छ । कुरो धेरै गहिरो छ । उनले सुशासनका क्षेत्रमा पनि सरकारले काम गरिरहेको बताए ।
प्रतिक्रिया