Breaking

रविको क्रेजले आत्तियो कांग्रेस, गगन–योगेशको छटपटी, स्वर्णिम हराउन तनहुँमा कांग्रेस नेताको ओइरो


काठमाडौँ — एक सय ६५ निर्वाचन क्षेत्र मध्य तीन स्थानमा पुन निर्वाचन हुन लागेपछि देशकै ध्यान यसतर्फ केन्द्रीत छ । हेवी वेट उम्मेदवार र राजनीतिक दलहरुको प्रतिष्ठाको लडाइँ बनेपछि उपनिर्वाचन पनि महानिर्वाचन मय देखिदैछ । अझ आफ्ना उम्मेदवारलाई जिताउन मत माग्दै प्रभावशाली केन्द्रीय नेताहरु निर्वाचन क्षेत्रमै खटिएपछि बैशाख १० रोमान्चक मोडमा पुगेको छ । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन हुने तीन वटै क्षेत्रमा दलहरुले आफ्नो शक्ति प्रदर्शनलाई तीव्रता दिइरहेको छ । मौन अवधि सुरु हुन अब ७२ घण्टा मात्र बाँकी रहँदा चुनावमा होमिएका सारा दलले सभापति देखि महामन्त्री र केन्द्रीय स्तरका नेताहरुलाई मैदानमा उतारेका छन् ।

कांग्रेसका दुई महमन्त्री गगन थापा र विश्वप्रकाश सुरु देखि नै उप निर्वाचनमा खटिए पनि अहिले शेखर कोइराला तनहुँको निर्वाचन क्षेत्रमा नै पुगेर घरदैलो गर्दै पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न लागि परेका छन् । त्यस्तै कांग्रेसले भट्टराईको समर्थन गर्न कांग्रेसका दर्शनभन्दा बढी नेतालाई तनहुँमा उतारेका छन् ।

मिसन ग्रासरुट अभियानमा रहेको नेकपा एमालेका नेताहरु पनि चुनावी प्रचारको अन्तिम चरणमा लागेका छन् । भाइरल ज्वरोका कारण अस्वस्थ बनेका एमाले अध्यक्ष केपी शर्मा ओली अभियानमा भौतिक रुपमा उपस्थित हुन नसके पनि सामाजिक सञ्जालबाटै वैशाख १० मा हुने उपनिर्वाचनमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । र उम्मेदवारहरुको तस्वीर राख्दै जितका लागि शुभकामना व्यक्त गरिरहेका छन् । सुरु देखि नै चितवनमा रहेका प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटासँगै पार्टी सचिव योगेशकुमार भट्टराई पनि राम न्यौपानेलाई जिताउन चितवन पुगेका छन् ।

आकाशे रंगको कपडामा घण्टी अंकित झण्डा बोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सांसदहरु बारा, चितवन र तनहुँमा उम्मेदवारका लागि भोट माग्न भ्याई नभ्याई गरिरहेका छन् । रास्वपाका भएभरका सबै सांसद आलोपालो निर्वाचन क्षेत्र पुगी भाषणबाजीमा उत्रिएका छन् । एक संसदीय निर्वाचन क्षेत्रमा दर्जनभन्दा बढी सांसदको उपस्थिति भइरहेको छ । एक थान सांसद जिताउन रास्वपाका सबै सांसद र नेता कार्यकर्ताहरु लागेका छन् ।

त्यस्तै बारामा मधेस केन्द्रीत दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रदेशका मुख्य मन्त्री नै लागि परेका छन् । भने जनमतका शिवचन्द्र कुशवाहलाई जिताउन पार्टी अध्यक्ष डा.सीके राउत तीन सातादेखि बारामै अड्डा जमाएर बसेका छन् । उपेन्द्रसँग वर्चश्वको चुनाव लडिरहेका सीके आफै उम्मेदवार जसरी होमिएका छन् ।

मिनी जनमत संग्रहको रुपमा हेरिएको उपनिर्वाचनमा कांग्रेस र रास्वापाको बढी प्रचार र संघर्ष देखिन्छ भने यिनीहरुको लडाईको फाइदा उठाँउदै एमाले गुपचुप मै जित निकाल्ने दाउँमा छ । शीर्ष दलहरु प्रतिष्ठाको लडाई लडिरहेका बेला प्रधानमन्त्रीको दल माओवादी र एकीकृत समाजावादी भने मतदातामा नै चित्त बुझाउने स्थितिमा छन् ।