Breaking

प्रचण्डलाई बालकोटसँग डर, कुर्सी गुम्ने खतरा (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुमाथि संकट श्रृजनागर्नप्राप्त उपलब्धी उल्ट्याउने काम भइरहेको बैशाख १ गते दावी गरे । काँग्रेससँगको अविश्वास र एमालेको निशानामा परेका प्रचण्ड कतै सत्ता समीकरण बदलिएर आफ्नो कर्सी गुम्ने होकी भन्ने छनक उनको अभिव्यक्तिमा देखिन्छ । के साँच्चै प्रचण्डसत्ताविरुद्ध घेरावन्दी सुरु भएकै हो त ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अहिले जे छ, त्यो सब बालकोटको बार्दलीबाट हात हल्लाएपछिमात्रै पाएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रित्तै हात फर्काईदिएपछि अञ्जुली थाप्दै बालकोटको शरण परेका प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पोल्टाभरी दिएर पठाएपछि पुस १० मा प्रधानमन्त्री बनेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री बनेको झण्डै चारमहिना पुग्यो । तर बालकोटप्रतिको घृणा यति बढेको छकि, आइतबार सभामुख देवराज घिमिरेले पहल लिएर बोलाएको बैठकमा प्रचण्ड सहभागि हुन नमानेपछि वैठक स्थगित नै भयो । किनकि बैठक एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बस्दै थियो ।

सभामुख घिमिरेले पहिलो बैठक आफ्नै कार्यकक्ष सिंहदरबारमा राखे भने, दोस्रो बैठक आफ्नै सरकारी निवास बालुवाटारमा राखे । जहाँ गठबन्धन भत्किएर सत्ता फेरबदल भएको महिनौंपछि ओली, प्रचण्ड र देउवा एकसाथ देखिएका थिए । त्यही दिन दलहरुबीच तेस्रोबैठक बालकोटमा बस्ने शीर्ष समझदारी बनेपछि आइतबार बोलाइएको थियो । तर अन्तिममा प्रचण्ड बालकोट जान नमानेकै कारण बैठक रोकियो । जसले संक्रमणकालिन न्याय, संवैधानिक परिषद् र संसदीय समितिका बारे छलफल गराउन सभामुख असफल भएका छन् । एमाले संसदमा प्रधानमन्त्री हराएको भन्दै कटाक्ष गरिरहेको छ ।

प्रचण्ड बालकोट नगएको प्रतिशोध एमाले सांसदले संसदमा देखाएका हुन्, वा प्रचण्ड प्रश्नको सामनाबाट जोगिन संसद जान छोडेका हुन् ? दुबैमा शंकाको सुविधा छ । किनकि नयाँ बर्षको पहिलो दिन बैशाख १ गते प्रधानमन्त्री प्रचण्डले उपलब्धी उल्ट्याउने कसरत चलिरहेको भन्दै व्यवस्थामाथि संकट आएको संकेत गरेका थिए ।

माओवादीकै सरकार छ भनेर चुप्प लाग्ने अवस्था नभएको भन्दै नेता कार्यकर्तालाई सचेतसमेत गराएका थिए । जसको जवाफ खोज्दै एमालेले प्रधानमन्त्रीमाथि परेको संकट संसदमा आएर बोल्न आग्रह गरिरहेको छ । जसलाई प्रतिवाद गर्दै माओवादीका सांसदले एमालेको गतिविधिलाई गाइजात्रा भनेका छन् । तर सरकार विस्तारमै संकट झेलिरहेका प्रचण्डलाई नेपाली काँग्रेसले समेत दबाब बढाइरहेको छ । सभापति देउवाले सत्ताको नेतृत्वमा चाँडै पुग्छौं भनेपछि प्रचण्ड यसै आत्तिएका थिए ।

महामन्त्री लगायतका अभिव्यक्ति पनि प्रचण्ड अनुकुलका छैनन् । बारम्बार घोच्ने खालका अभिव्यक्ति सडक र सदनका माध्यमबाट आइरहेका छन् । काँग्रेसकै दबाबलाई प्रचण्डले संकट भनेका हुन् कि भन्नेतर्फ पनि शंका गर्न सकिन्छ । किनकि प्रचण्डको प्रस्तुती काँग्रेसलाई पनि चित्त बुझेको छैन ।

आफुलाई चौतर्फी घेराबन्दीमा पारिएको बताइरहने प्रधानमन्त्री प्रचण्ड केहीदिन अघिसम्म फास्ट ट्याकमा हिड्न खोज्दै थिए । प्रचण्डले बेइमानी गरेपनि राष्ट्रिय मुद्धामा साथ दिन्छौ भन्ने एमाले बालकोट जान नमानेपछि थप चिड्ढीएको छ । प्रचण्ड यतिबेला सबैभन्दा धेरै विश्वास गरेको प्रमुख सत्ता घटक काँग्रेसले उनलाई सहयोग गरेकै छ त ? भन्ने प्रश्न पनि उठाएको छ ।