अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गरेका छन् । पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उनले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको हो । अमेरिकाको ईतिहासमा पहिलोपटक राष्ट्रपतिमाथि फौउजदारी मुद्धा परेका डोनाल्ड ट्रम्पले यतिबेला उनकै पूर्ववकिल विरुद्ध मुद्दा दायर गरेको छ । पूर्वराष्ट्रपति ट्रम्पले फ्लोरिडाको संघीय अदालतमा दायर मुद्दामा पूर्ववकिल कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र संचार माध्यममार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्राहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप लगाएको छ । वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धको बारेमा चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ वटा मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएको छ । कोहेनले दशक भन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए । पूर्ववकिल कोहेन ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो । तर सन् २०१६ को निर्वाचनपछि उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो ।
सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो । सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक समेत बनेका थिए । पूर्ववकिलले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै ट्रम्पले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै पुन मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया