Breaking

ढाकाकुमार श्रेष्ठलाई निष्कासन गर्ने रास्वपाको निर्णय


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । यससँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अगाडि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’

लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उहाँकै भएकाले कारबाही गरेको सभापति लामिछानेले बताए । यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने उनले बताए ।