Breaking

लहडमा आएर सिंहदरबारको फोहोर नउठाएका होइनौँ : बालेन साह


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले लहडमा आएर सिंहदरबारको फोहोर नउठाउने निर्णय नगरेको प्रतिक्रिया दिएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्विरसहित लामो ‘स्टाटस’ लेखेर उनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता गैरजिम्मेवारी र लापरवाहीका कारण बाध्यात्मक कदम उठाउनुपरेको बताएका छन् ।

‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो’, उनले लेखेका छन्, ‘यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’

सिंहदरबारसम्म पुग्न महानगरले धेरै कसरत गर्नुपरेको भन्दै उनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नै नचाहेको दाबी गरेका छन् । नौ महिनामा पटक-पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुरा कार्यान्वयन गर्न मुस्किल परेको भन्दै उनले १४ बुँदा उल्लेख गरेका छन् ।

‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ?’, उनले प्रश्न गरेका छन्, ‘संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

बालेनले स्थानीय समस्या स्थानीय तहमा नै समाधानका लागि प्राथमिकतामा राखेर गाँठो फुकाइदिन समेत संघीय सरकारलाई आग्रह गरेका छन् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ’, उनले भनेका छन्, ‘तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् ।’