काठमाडौँ – चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् ।
यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका हुन् ।
गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल यसपट कांग्रेस उम्मेदवारको पक्षमा उभिएका छन् ।
चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । विद्रोही नेताहरूले श्रेष्ठलाई जिताउन अपील गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् । कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको बताएका छन् ।
उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनः कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुने अपिल गरेका छन् ।
चितवनमा विद्रोह गर्नेमध्ये दिनेश कोइरालाको कारबाही अझै फिर्ता भएको छैन । आगामी उपनिर्वाचनको भूमिकाको आधारमा कोइरालाको कारबाहीबारे निर्णय हुने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया