Breaking

प्रचण्डलाई गगनको धम्की, भर नपर्न आग्रह, रास्वपाको समर्थन झिक्ने दाउ, सत्ता फेरिने संकेत


काठमाडौँ — ओलीसँग सुरु भएको सयदिने मधुमास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरबहादुर देउवासँग पुगेर पुरा गरे । डेढ महिनामै नीतिगत बाटो फेरेपछिप्रचण्डको देश बनाउने उद्देश्य अलमलमा परेको छ । सत्तासीन दलकै नेताहरु प्रधानमन्त्रीसँग खबरदारी र असन्तुष्टिव्यक्त गर्न थालेका छन् । काँग्रेस महामन्त्री गगनकुमार थापाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रशंसक थिए । बालकोटको गठबन्धन भत्किएर आफ्नै पहलमा काँग्रेस नेतृत्वको गठबन्धन बनेपछि प्रचण्डप्रति गगनको प्रशंसा उच्चविन्दुमा पुग्यो । प्रधानमन्त्रीलाई सफल बनाउने जिम्मा गगनले आफ्नै थाप्लोमा उठाए ।

तर प्रचण्डप्रति गगनको अतृप्त प्रशंसा सत्ताप्राप्तिको भोगसँगै फेरिएको छ । आजभोलि प्रधानमन्त्रीका फुर्सदमाथि गगन कटाक्ष गर्न थालेका छन् ।बुधबार सरकारलाई हिड्ने समय नभएको भन्दै दौडनुपर्ने बताएका उनले शुक्रबार फुर्सदिला प्रधानमन्त्री देखेर आफु छक्क परेको बताए । गगनको प्रशंसा आलोचनामा बद्लिनुको कारण भनेसत्ता सुरक्षाकै लागि ओलीको बार्दलीबाट देउवाको अंगालोमा हाम फाल्नुभन्दा परको उपलब्धी प्रचण्डले देखाउन नसक्नु हो ।

सरकारका सय दिन चौपटबन्दा गगनजस्ता सत्तापक्षकै नेताहरु आलोचनामा उत्रिन थालेका छन् ।तर गगनको आलोचनाभित्र अर्थमन्त्री बन्न नपाउनुको आक्रोशसमेत मिसिएको कतिपयको बुझाई छ । किनकि अर्थमन्त्री बन्ने गगनको चाहनाका अघि देउवा–प्रचण्ड अनुदार बनेका थिए । काँग्रेसभित्रैबाट गगन निकट नेताहरुले भाग पाएका छैनन । फलतः गगन सरकारप्रति चर्काे बन्न थालेका छन् ।

सबैभन्दा बढी भाग पाएको काँग्रेसभित्र भागबण्डाको टकराव चर्किएपछि सरकार विस्तारले पूर्णता पाएको छैन । देउवा मनाएरमात्रै नपुग्ने भएपछि प्रधानमन्त्री प्रचण्ड देउवाइतर समूहका नेता शेखर कोइरालासँग पनि वार्ता गर्न बसेका छन् । काँग्रेसभित्रको टकरावले सकसमा परेका प्रचण्डलाई सरकार जोगाउनै संकट परेको छ । नत देउवाले आधामन्त्रीमात्रै पठाउँदा पनि प्रश्न गर्ने हैसियतमा उनी छन् । १० दललाई बोकेर हिड्दा प्रचण्डलाई दुखका सय जंघार तरेजस्तो हुँदैछ ।

गठबन्धनभित्रको यही हबिगत र दलहरुबीचको यही अलमल कायम रहे बैशाख १० को उपनिर्वाचनपछि समीकरणको आयु पुग्ने विश्लेषकहरुको दाबी छ । किनकि प्रधानमन्त्रीलाई समर्थन गरेको दलहरुको दायरा खुम्चिएर शक्ति पनि घट्ने अवस्थामा छ । पुस १० को बालकोट गठबन्धन फागुन १२ मा भत्किएपछि बालुवाटारमा आठ दलीय गठबन्धन बनेको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिँदासम्म केही दल थपिएर ११ दलीय गठबन्धन बन्यो ।

११ दलको समर्थनसहित सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रीका लागियो अभूतपूर्ण शक्ति थियो । तर सरकार चलाएको सय दिनकै अवधिमा प्रधानमन्त्रीमाथि विश्वास गुम्ने श्रृखंला सुरु भएको छ । फागुन १२ को ११ दलीय गठबन्धनको दायरा घटेर ६ दलमा झरेको छ । सरकारमै नअटाएपछि रास्वपा बाहिरिदैछ । जनमत पार्टीले खोजेको मन्त्रालय नपाएपछि सरकार छोडेको छ ।प्रभु साह नेतृत्वको आम जनता पार्टीले प्रचण्डको तारिफ गर्दा पनि सरकारमा ठाउ पाएन । स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि हिस्साविहिन बनेका छन् ।

यसमध्ये पनि रास्वपा र जनमत पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि नै असन्तुष्टि जनाएका छन् । फलतः प्रधानमन्त्रीमाथि पनि सबै शक्तिलाई मिलाएर सबैको प्यारो बन्न खोज्दाखोज्दै अल्पमतमा पर्ने डर पैदा भएको छ । सरकार विस्तारकै क्रममा दलहरुबाट संकट झेलेका प्रधानमन्त्रीलाई आधामन्त्रीमात्रै पठाएका देउवाले पनि सार्थक साथ दिएको छैन ।देउवा प्रचण्डलाई आफु अनुकुल बनाइबनाइ असफल बनाएर गठबन्धन भाड्ने योजनामा रहेको टिकाटिप्पणी भइरहेका छन् । गठबन्धनले केन्द्रको जस्तै अलमल प्रदेश सरकारमा पनि गरिरहेको छ ।

एमाले सरकारबाट बाहिरिएको डेढ महिना पुगिसक्दा समेत प्रदेश सरकारबारे गठबन्धन निर्णयविहिन छ । एमाले सरकार छाड्न चाहिरहेको छैन भने गठबन्धन पनि सरकार बनाउनेबारे अलमलमै छ ।यसले दलहरु सम्भावित फेरबदलकै आँकलनमा चुप बसेका हुन् त ? भन्ने सन्देश दिएको छ ।