काठमाडौँ — वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीले पाउने बीमा रकमको ठगी गर्ने ६ जनालाई पक्राउ गरिएको छ । शुक्रवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीले बीमाबापत पाउने रकम मृतकका आफन्तलाई केही मात्रै दिई अरू रकम आफूले राख्ने गिरोहका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
प्रहरीले चैत २३ गते दिउँसो काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए । उनले पक्राउ परेका तामाङको साथबाट मृतकको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता‚ विवाहदर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका कागजातसहित फेला पारी उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए ।
पक्राउ पर्ने काभ्रेपलाञ्चोक रोशी गापा-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाही लालबन्दी नपा-८ का ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान र ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नपा-२ का ३९ वर्षीय रुद्रमान गोले रहेको बताए । प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका शवको बीमामा ठगी गर्ने यस्तो गिरोह रहेको र उनीहरूले मृतकका परिवारलाई निवासमा गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताए ।
उनीहरूले मृतकको शव आइसकेपछि उनीहरूका परिवारलाई काठमाडौं बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठग्ने गरेको देखिएको बताए । उनका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको बताए ।
प्रतिक्रिया