Breaking

प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्छ: गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे । सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ ।

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एकदिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए । साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उनले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे । बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनीतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गरे ।