Breaking

पदाधिका कार्यालयमा आउने अभ्यास नभएपछि माओवादी पार्टी कार्यालय सुनसान


काठमाडौँ – सरकारको नेतृत्व गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदवार छिरेका छन् । पार्टीकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा छन् । पार्टीका दुई शीर्ष नेता सरकारमा रहेका कारण यतिबेला पार्टी कार्यालयमा चहलपहल घटेको देखिन्छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारको कार्यसम्पादन सिंहदवार र बालुवाटारबाटै गरे पनि पार्टीका अधिकांश बैठक, भेला र छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामै गर्दै आएका छन् । पार्टीका अरु पदाधिकारीसहित अधिकांश नेताहरु पार्टी कार्यालयमा आउने अभ्यास नभएपछि पार्टी कार्यालय सुनसान हुन पुगेको हो ।

पार्टी कार्यालयमा बैठक हुने दिनबाहेक अन्य दिन सुनसानजस्तै हुने गरेको छ । सत्ताधारी पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिडभाड र पहलपहल हुनुपर्नेमा माओवादी केन्द्रको कार्यालयमा त्यस्तो देखिँदैन । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ लगायत पदाधिकारी समेत प्रायः पार्टी कार्यालयमा पुग्दैनन् । अधिकांश माओवादी नेताहरुले आफ्नै निजी निवास र सिंहदरवारस्थित संसदीय दलको कार्यालयमै कार्यकर्ता भेट्ने गरेका छन् । झण्डै ५ रोपनी क्षेत्रफलमा फैलिएको पार्टी कार्यालयमा सबै पदाधिकारीको कार्यकक्ष सहित व्यवस्थित हलको समेत व्यवस्था गरिएको छ । तर, पार्टी कार्यालयमा नेताहरु र कार्यकर्ताहरुको उपस्थिति सो अनुसार देखिँदैन ।

पार्टीका नेता तथा कार्यकर्ताका लागि अध्ययन गर्न व्यवस्थित पुस्तकालयको समेत व्यवस्था भए पनि सायदै कोही छिर्ने गरेका छन् । नेता कार्यकर्तामा अध्ययन गर्ने बानी हराउन थालेपछि पुस्ताकालयका भित्ता र कुर्सीमा माकुराले जालो लाउन थालेको छ । पार्टी सचिव गणेश साहले संसदीय राजनीतिमा जता सत्ता उतै पार्टी केन्द्रित हुने भएकाले यस्तो अवस्था आएको बताए । ‘संसदीय राजनीतिमा सत्ता नै प्रधान हुन्छ । प्रचण्ड कमरेड र नारायणकाजी कमरेडसँग सत्ता छ, उतै भिडभाड हुँदो रहेछ’ साहले भने, ‘पार्टीका उपाध्यक्षसहित महासचिव, उपमहासचिव, सचिव लगायत नेताहरु पार्टी कार्यालयमा आउने र भेटघाट गर्ने गरे पार्टी कार्यालय गुल्जार भइहाल्थ्यो नि ।’
अब पार्टीको पदाधिकारी बैठक बस्न थालेकाले त्यसपछि पार्टी कार्यालय चहलपल हुने साहको दाबी छ । पार्टीले निर्णय गरेर भेटघाट र छलफलजस्ता गतिविधि पार्टी कार्यालयबाटै हुने गरी निर्णय गराएमा यस्तो अवस्था नआउने उनको भनाइ छ । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि बुद्धनगरमा पार्टीको केन्द्रीय कार्यालय राखिएको थियो । पहिलो संविधानसभा९२०६४ साल०को चुनावमा माओवादी पहिलो दलको रुपमा उदाएपछि पार्टी नेता कार्यकर्ताले बुद्धनगरस्थित पार्टी कार्यालय खचाखच हुने गरेको थियो ।

सरकारको नेतृत्व गरेर अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सिंहदरवार छिरे पनि पार्टीका अधिकांश सिनियर नेता बुद्धनगरस्थित पार्टी कार्यालयमै भेटिन्थे । पछि बुद्धनगरको पार्टी कार्यालय साँघुरो भएको भन्दै २०६५ सालमा पेरिसडाँडामा झण्डै ५ रोपनी क्षेत्रफलको फराकिलो ठाउँमा सारिएको थियो । पार्टीमा प्रचण्ड र मोहन वैद्य ‘किरण’ बिच दुई लाइन संघर्ष चर्किन थालेपछि २०६९ सालमा पार्टी नै विभाजन भयो । २०६९ सालदेखि विभाजन हुन थालेको माओवादी फुट्ने र जुट्ने क्रम जारी छ ।