Breaking

गगन–विश्वलाई देउवाको सवक, उपनिर्वाचन बन्दैछ प्रतिष्ठाको लडाइँ, रविलाई डर–उपेन्द्र ढुक्क बन्दै


काठमाडौँ — बैशाख १० को उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाकै विषय बनाएपछि उपनिर्वाचन नभई महानिर्वाचन जस्तो बनेको छ । हरेक दलहरुले चर्चित र प्रभावशाली नेताहरुलाई चुनावमा खटाएर पल्ला बलियो बनाउने नीति लिएका छन् । जसलाई चुनाव जिताउनै पर्ने बाध्यता छ । तीन निर्वाचन क्षेत्र मध्य तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन सर्वाधिक रोचक देखिँदैछ । काँग्रेस महामनत्री गगन थापा र स्वर्णिम वाग्लेको सम्वन्ध काँग्रेसको घोषणापत्र लेख्ने दिग्गज व्यक्तिको पार्टीगत साइनोभन्दा धेरै माथि र घनिष्ठ छ ।

तर तिनै वाग्ले गगनसंगको साथीको नातालाई पर सार्दै पार्टीगत नातालाई हात्ति मार्दै रास्वपामा प्रवेश गरि उम्मेदवार छन् । र तिनै स्वर्णिम वाग्लेलाई साथित्वको सम्वन्ध समेत लात मार्न अर्थात स्वर्णिमलाई पराजित गरि काँग्रेसलाई जिताउन गगनलाई सस्त्रअस्त्र भिराएर सभापति देउवाले तनहुँ पठाएका छन् । र गगन थापा तनहुँपुगेर काँग्रेस ृउम्मृदवारको प्रशसामा भन्दा स्वर्णिमकै आलोचनाका खातिर जोसिएका छन् । जोसिएकै हाउभाउमा सोमबार निकै आक्रामक देखिएका गगनले पखुरा सुर्किएर, असिनपसिन हुँदै स्वर्णिमविरुद्ध खर्चिएका शब्दले अब उनी कसैगरि काँग्रेसलाई जिताएरै फर्किन्छन् भन्ने भेउ दिन्छ ।

तर यो गगनको बाध्यता की रहर ? पार्टी छोड्नेबेला आफैलाई निकट सम्झिएर सन्देश छोडेका स्वर्णिमविरुद्ध जानु गगनका लागि पनि सहज छैन । तर सोमबार देखिएको आक्रोश पनि सामान्य छैन । स्वर्णिम हराउने जिम्मा पाएका गगनले आफैले तयार पारेको घोषणापत्रमा पाँच महिना टिक्न नसक्नेले बौद्धिकताको दम्भ नदेखाए हुने भन्दै टिप्पणी गरे । संघर्ष गर्नेले घरभित्रै बसेर गर्नुपर्ने बताएका उनले बाहिर गएर ढुंगा नहान्न स्वर्णिमलाई चेतावनी समेत दिए । जसको जवाफ मंगलबार स्वर्णिमले तल्लोस्तरको टिप्पणी भनेर प्रतिवाद गरेका छन् ।

काँग्रेसभित्र यसैपनि गगन र विश्वप्रकाश प्रतिष्ठाकै लडाइँ लड्दैछन् । महाधिवेशनमार्फत महामन्त्रीमा निर्वाचित भएर आइसकेपछि पार्टीलाई विधि, विधान र रुपान्तरित तरिकाले चलाउने उद्घोष युवा समक्ष गरेका थिए । तर देउवाको एकलौटी पेलानले दुई महामन्त्रीको तेल निस्किएर मूल्य झण्डाझण्डै कौडीको भाउमा पुगेपछि उनीहरु आफ्नै सपनाबाट बिचलित बनेका छन् । अहिले झनै देउवाले दुबै महामन्त्रीको काँधमा तरबार राखेर चुनाव जिताउने जिम्मेवारी सुम्पिएपछि अब यो प्रतिष्ठाकै विषय बनेको छ । तनहुँ १ मा काँग्रेसका गोविन्द भट्टराईले चुनाव हारे गगनको बोली शीर झुक्ने छ, चितवन २ मा जीतनारायण श्रेष्ठले चुनाव हारे पार्टीभित्र झनै कमजोर अवस्थामा पुग्नेछन् । त्यसपछि ठूलो स्वरमा बोल्ने हैसियत पनि झनै सुक्ने छ ।

स्वर्णिमका लागि पनि उपनिर्वाचन कम प्रतिष्ठाको विषय बनेको छैन । उनले काँग्रेसलाई देखाउनकै लागि रास्वपाको उभारलाई ‘क्याच’ गर्दै उम्मेदवार बन्ने फैसला गरेका हुन् । पराजित भए स्वर्णिमको पहिलो स्वर्णिम सपनामाथि नै तुषरापात हुनेछ । उसो त उपनिर्वाचनलाई सबै दलहरुले निकै ठूलो प्रतिष्ठाको विषय बनाएका छन् । एमालेका गोकुल बास्कोटाले पनि चितवन पुगेर एमालेको जित पक्का भएको उद्घोष गरेका छन् ।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चुनाव जित्नु फलामको चिउरा चपाएभन्दा चर्काे छ । रविको सुनिश्चितालाई आकलन गरेका कतिपय नेताहरु उम्मेदवार बन्नै तयार भएनन् । तर यही बीचमा नागरिकता मुद्धा हुँदै राहदानीको विषय फेरि बल्झिएपछि रविमा भय उत्पन्न भएको छ ।

बारा २ मा मधेशका मुल नेताहरुको भिडन्त हुँदैछ । सप्तरी २ मा आफैले हराएर खेदेका उपेन्द्र यादवलाई भागबण्डादेखि उपराष्ट्रपति र उपनिर्वाचनको समर्थनसम्म गठबन्धनका ठूला दलले बोकिदिएपछि सीके राउत असन्तुष्ट छन् । तर असन्तुष्टिको विषय मतमा व्यक्त गर्दै उपेन्द्रलाई फेरि हराउने जिम्मा उठाएका सीके राउतले यसलाई आफ्नो राजनीति जिवनकै प्रतिष्ठाको विषय बनाएका छन् । जसपा र जनमतबीचको यो लडाइँमा रास्वपाले पूर्वडीआइजी रमेश खरेललाई मैदानमा उतारेको छ । उनको जीत हार पनि राजनीतिक प्रतिष्ठाकै लाइनमा देखिएको छ ।