काठमाडौँ — वैशाख १० मा हुने उप निर्वाचन हेवीवेट उम्मेद्वारका कारण पेचिलो र रोचक बन्ने निश्चित छ । केहि उम्मेद्वारको मिनि जनमत संग्रह त केहिको राजनीतिक भविष्यसंगै जोडिएको यो उपनिर्वाचनमा दलहरुले समेत प्रतिष्ठाको लडाइँ बनाएका छन् । यद्यपी उपनिर्वाचनमा देखिएका उम्मेद्वार भने पराजित र विवादस्पाद अनुहार छन । उपनिर्वाचनका लागि आज उम्मेद्वारी दर्तासंग तातिएको माहोलले चितवनलाई छपक्कै छोपेको छ । गठबन्धनकै दुई दल रास्वपा र कांग्रेसभित्र मुख्य प्रतिस्पर्धा रहने देखिएको यो क्षेत्र रवि लामिछानेको कारण अरु भन्दा बढि चर्चामा छ ।
जहाँ रविलाई टक्कर दिन कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार बनेका छन । श्रेष्ठ तीनै व्यक्ति हुन जो काँग्रेसको गढमा माओवादीलाई मलजल गर्नु परेको भन्दै माओवादीमाथि नै खनिदै आएका थिए । स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणुलाई दोहोर्याएर टिकट दिएपछि विद्रोहको आवाज नै बनेका उनी अहिले त्यहि माओवादीकै भरमा चुनाव जित्ने आशामा छन । जहाँ रवि को त उनकै सानो असावधानीका कारण उपनिर्वाचन हुन लागेको हो । उनीमाथि पासपोर्ट दुरुप्रयोगमा फेरि रिट परिसकेको छ । जसले उनको जित फेरि उपनिर्वाचनको आधार त बन्ने हैन भन्ने खतरा बढेको छ । यहिवीचमा बारा र तनँहुमा त हरुवाहरुको भेला नै हुन लागेको छ ।
यता काठमाडौँ ६ मा गत निर्वाचनमा लज्जास्पद हार बेहोरेका सर्वेन्द्र खनाल तनँहु १ मा एमालेबाट उम्मेद्वार बनेका छन । प्रहरी नेतृत्व कालमा खासै काम गर्न नसकेका बरु सांसद अपहरणको आक्षेप खेपेका पूर्व आईजिपी खनाल निक्कै विवादित पात्र हुन् । खनाललाई सरकारले प्रहरी नेतृत्व सुम्पने निर्णय गरेलगत्तै तत्कालीन डीआइजी रमेश खरेलले आइजीपी नबनाएको झोकमा राजीनामा नै गरेका थिए । जहाँ उनको प्रतिस्पर्धी रास्वपाबाट उम्मेद्वार बनेका स्वर्णिम वाग्ले पनि मालामाल हुँदा पार्टी भन्दै हिडेको र फाईदा नहुना साथ हाम फालेको स्वार्थीको आक्षेप खेपिरहेका छन ।
यता बारामा रमेश खरेलको उम्मेदवारी पनि प्रश्नको घेरामा छ । मंसिर ४ को निर्वाचनमा काठमाडौं १ मा उम्मेदवार बनेका उनले आफ्नो नेतृत्वमा सुशासन पार्टी पनि दर्ता गराएका थिए । तर प्रहरी संगठनबाट समाज र राष्ट्रका लागि उनले कति इमानदार प्रयास गरेका रहेछन् र जनताले कसरी मूल्यांकन गरे भनेर हेर्न त्यही चुनावको नतिजा काफी छ । जहाँ उनी एकाएक रास्वपा जाँदा पार्टी नै विलय भएको कि अध्यक्ष मात्र गएको भनेर प्रश्न गर्नेहरु बढेका छन ।
यद्यपी प्रहरी सेवामा रहँदा बारामा तात्कालिन एसपीका रुपमा प्रहरी इन्चार्ज थिए । त्यो बेला सुशासनको पक्षमा गरेका कामलाई बाराबासीले प्रशंसा गर्ने गरेका छन् । सम्भवत रमेश खरेल त्यो बेलाको गुण जनताले तिर्ने विश्वासमा छन् । त्यहिका अर्का उम्मेद्वार तथा जसपा अध्यक्ष उपेन्द्र यादव पनि गत निर्वाचनमा सिके राउतसंग हार व्यहोरेकै व्यक्ति हुन ।
उनको संसद यात्रा तय गर्नैका लागि रामशाहय प्रसाद यादवलाई उपराष्ट्रपतिमा समेटिएको जगजाहेर रहदाँ राउतले कोहि मान्छे मन्त्री नबनी बस्न नसक्ने भएको र सो क्षेत्र खाली नै नभई उपनिर्वाचन गराउने हतारोमा सरकार रहनुले नियत प्रष्ट भएको आरोप नै लगाएका थिए । तर उनै सिके राउतले उम्मेद्वार बनाएका शिवचन्द्र कुसवाह पनि गत निर्वाचनमा हार व्यहोरेकै व्यक्ति हुन । गत निर्वाचनमा माओवादीबाट गठबन्धनको उम्मेद्वार बन्दा पनि जीत हासिल गर्न नसकेका उनी पनि बेचैन थिए ।
हुन त निर्वाचन उम्मेदवारहरूको आकांक्षाको अनुमोदन मात्र नभई नागरिकहरूको स्वीकार÷अस्विकारको अभिव्यक्ति पनि हो । जसले चर्चामा रहेको उपनिर्वाचनबाट नयाँ र भिजन भएको भन्दा एक ठाँउबाट फालिएकै अनुहार अर्को ठाँउबाट अनुमोदन हुने वातावरण बन्नु चार्ही क्षेत्रविशेष फरक मतदाताका लागि एउटै मेनुलिष्टमा फरक उपभोक्ताको रोजाई जस्तो हुने भएको छ ।
प्रतिक्रिया