विदेश

रुसले थप छिया छिया बनायो युक्रेन, बाख्मत शहर पनि कब्जामा


काठमाडौँ — रुसी सेनाले युक्रेनको बाख्मत शहर कब्जामा लिएको दावी गरेको छ । रुसी सेनाको तर्फबाट अग्रपंक्तिमा लड्दै आएको वागनर सैन्य समूहले बाख्मतमाथि वैधानिक कब्जा जमाएको घोषणा गरेको हो । आडमै रहेको युरोप होस् वा हजारौँ माइल टाढा रहेको अमेरिका युक्रेनमा जारी तनाव सबै देशका लागि टाउको दुखाइको विषय बनेको छ । रुसले युक्रेनमाथि हमला गरेको वर्षदिन भन्दा बढि भएको छ  ।

यो अवधिमा दुवैतर्फ हजारौं सैनिक र ठूलो संख्यामा युक्रेनी नागरिकको ज्यान गएको छ । रुसी आक्रमणले युक्रेनमा विनास मात्रै निम्त्याएको छैन ८० लाखभन्दा बढी मानिस छिमेकी देशमा शरणार्थीका रुपमा पलायन भएका छन् । युक्रेनका सहरहरू भग्नावशेषमा परिणत हुँदा युक्रेनका हजारौं सर्वसाधारणले ज्यान गुमाएका छन् । यसले युरोपमा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो शरणार्थी संकट निम्त्याएको छ । रुस र युक्रेनबीच चलिरहेको युद्ध अझै लामो समयसम्म चल्ने संभावना देखिंदै गएको छ । सोमबार मात्रै रुसी सेनाले युक्रेनको बाख्मत शहर कब्जामा लिएको छ ।

रुसी सेनाको तर्फबाट अग्रपंक्तिमा लड्दै आएको वागनर सैन्य समूहले बाख्मतमाथि वैधानिक कब्जा जमाएको घोषणा गरेको छ । प्यारामिलिटरी सैन्य समूह वागनरका प्रमुख यब्गेनीले आफ्नो सेनाले बाख्मत शहरको प्रमुख प्रशासनिक भवनमा रुसी झण्डा समेत फहराएको छ । महिनौंदेखिको लडाईमा सफलता मिलेको र बाख्मत शहर पूर्ण कब्जामा आएको उनले दावी गरेको छ । युक्रेनले भने बाख्मत रुसी कब्जामा गएको स्वीकार गरेको छैन । युक्रेनका सैन्य प्रमुखले आफ्नो सेना अहिले पनि शहरमा टिकी राख्ने प्रयासमा रहेको बताएको छ ।

यता युक्रेनमा बम र गोलीले विश्वव्यापी भोकमरीको संकट डरलाग्दो अवस्थामा पुगेको छ । विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिन थालेको हो । विश्वमै धेरै गहुँ मकै र जौ उत्पादन हुने देशमा रुस र युक्रेन अग्रपंक्तिमा पर्छ । युक्रेन र दक्षिण–पश्चिम रुसलाई युरोपको अन्न भकारीसमेत मानिन्छ । विश्वभर हुने गहुँ निर्यातमध्ये यी दुई देशले ३० प्रतिशत हिस्सा ओगट्छन् । तर दुबै देश युद्धमा होमिएपछि यसको असर खाद्यान्नमा पर्न थालेको छ ।