Breaking

रवि हराउन विश्वप्रकाश कमाण्डर, स्वर्णिम हराउन गगन कमाण्डर, उपेन्द्रसंग खरेलको लडाइँ


काठमाडौँ — आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचन भएपनि दल र उम्मेदवारहरुको रस्साकसीले महाचुनाव जस्तो देखिएको बैशाख १० का लागि मनोनयन दर्ता उम्मेदवारहरुको शक्ति प्रदर्शन जस्तै बन्यो । चार महिना अघिको प्रतिनिधिसभा चुनावको सरगर्मी सेलाउन नपाउँदै देशमा पुनः उपनिर्वाचनले देश गर्माएको छ ।

आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि सोमबार दलका नेताहरुले उम्मेदवारी दर्ता गराएपछि एकाएक चुनावी माहोल तात्तिएको हो ।उम्मेदवादी दर्ताका लागि कांग्रेस, एमाले रास्वपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।


तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खानाल रास्वपाका स्वर्णिय वाग्ले र राप्रपाका शोभा गुरुङसँगै हाम्रो नेपाली पार्टी (लौरो अभियान)का विष्णु पराजुली, र नागरिक उन्मुक्ति पार्टीका भीम सुनार लगायतले उम्मेदवारी दिएका छन् । गोविन्द भट्टराई कांग्रेसका महामन्त्री गगन थापा सहित दलबलका साथ उम्मेदवारी दर्ता गराउन पुगेका थिए । त्यलगत्तै रास्वपाकास्वर्णिम वाग्ले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

चितवनमा आफ्नो उम्मेदवारी दर्ता गराईसकेपछि सभापति रवि लामिछाने उम्मेदवारी दर्तामा स्वर्णिमलाई साथ दिन तनहुँ पुगेका थिए ।तनहुँ १ मा माओवादीले आफ्नै उम्मेदवार उठाउन सकेन । केही दिन अघिसम्म आफ्नो घनिष्ठ मित्रता तोडेर रास्वपा पुगेका उम्मेदवार वाग्लेलाई ईंगित गर्दै काँग्रेस नेता थापाले घुम्दै आएका ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु भन्दा गाउँकै मुलको पानी पीएका उम्मेदवारलाई जिताउनु पर्ने भन्दै काँग्रेस उम्मेदवार भट्टराईको पक्षमा मत मागे ।

यस्तै चिनवन २ मा सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने,राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गरे । चितवनका पुर्व जिल्ला सभापति समेत रहेका श्रेष्ठ कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सोही क्षेत्रबाट दोहोर्याएर चुनाव लड्न लागेका रास्वपाका लामिछानेले पहिलेको भन्दा राम्रो मत ल्याउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनालाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीकाडा.कमरुल्लाह अन्सारीलगायतले उम्मेदवारी दर्ता गरेका छन् । कुशवाहले जनमतका अध्यक्ष सीके राउतलाई साथमा राख्दा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालसहित रमेश खरेल अधिकृतको कार्यालय पुगेका थिए ।कुशवाहको साथमा जनमतका अध्यक्ष सीके राउत साथमा देखिए । त्यस्तै उपेन्द्र यादवका लागि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोट मागेका थिए ।

गत मंसिर मा सम्पन्न निर्वाचनमा तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि पद रिक्त हुन पुगेको थियो । चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

तर, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीलेउपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार उठाएनन् । यी दुई पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो । जसका कारण यो उपनिर्वाचन यी पार्टीका नेता कार्यकर्ता मतदातामा नै सीमित हुने भएका छन् ।