Breaking

कोशी प्रदेश पक्षमा मतदान गरेको १ महिनापछि नामांकन सच्याउने पक्षमा उभियो माओवादी


काठमाडौँ – तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ ।

गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा उभिएको हो ।

शनिबार विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र प्रदेश कमिटीले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित सुरु भएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । चैत १२ गते कांग्रेस, एमाले, र राप्रपासँग मिलेर संयुक्त विज्ञप्ति जारी गर्दै माओवादीले प्रदेशसभाबाट पारित नामलाई शिरोधार्य गर्न अपिल गरेको थियो ।

माओवादी केन्द्र कोशी प्रदेश कमिटीले पहिचान पक्षधरहरुको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । ‘नामांकन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यवद्धता रहेको छ,’ पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनमाथि दमन गरेर होइन, सरकारको तर्फबाट यथाशीघ्र वार्ता मार्फत आन्दोलनरत पक्षसँग सम्वाद गर्न आग्रह गर्दछौं, साथै पहिचान देखिने गरी पुनः नामांकनबारे छलफल गर्न हाम्रो पार्टी तयार रहेको जानकारी गराउछौं ।’

माओवादी केन्द्रले पहिचान पक्षधरहरुको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेश सभाबाट नाम पारित भएको उल्लेख गर्दै नामकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको बताएको छ । ‘प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको बहुपहिचान नामका निम्ति संघर्ष गर्न हाम्रो पार्टी प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पहिचान पक्षधर संघ, संस्था पार्टी र समुदायहरुले पनि यस विषयमा गम्भीर समीक्षा गर्दै भावी आन्दोलनलाई सफल बनाउन साझा एजेन्डा र साझा विषयहरुमा सहकार्यसहित नयाँ सिमांकन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनामा पनि बहस जरुरी रहेको स्पष्ट पार्न चाहन्छौं ।’

गत चैत १२ गते भने माओवादी केन्द्रले प्रदेशसभाबाट पारित प्रदेशको नाम (कोशी) स्विकार गर्न अपिल गरेको थियो । ‘बृहत सहमतिका साथ प्रदेशको नामकरण गर्न सफल हुनुभएकोमा प्रदेशसभा सदस्यहरुज्यूहरुलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दै सर्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामाकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा अनुरोध गर्दछौं,’ नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले चैत १२ गते जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘‘नामकरणका विषयलाई लिएर भइरहेका सामाजिक सदभावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढंगबाट आफ्नो मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्ययमबाट समस्याको समाधान गर्न सरकारलगायत सम्बन्धित सबैपक्षलाई अपिल गर्दछौं ।’

तर दलहरुको उक्त आग्रहले आन्दोलन रोकिएन । पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेका छन् । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बु (लाजेहाङ्ग)को उपचारको क्रममा चैत ९ गते मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-१५ घर भएका लिम्बुलाई शहीद घोषणा गर्न र आन्दोलनको क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्न पनि माओवादी केन्द्रले सरकारसँग माग गरेको छ ।