Breaking

जनकपुरमा रंगशाला अलपत्र, छिट्टै पूर्णता दिने खेलकुद मन्त्रीको आश्वासन, समन्वय गर्न मेयर साहको जोड


काठमाडौँ — धनुषाको जनकपुरधाम नजिकै एक दशकदेखि निर्माणधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अझै अलपत्र छ । वार्षिक ९ लाख रुपैयाँ निमार्णका लागि खर्चिने गरिएपनि रंगशालाले अझै आकार लिन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानसंग सहकार्य गरि धनुषाको जनकपुरधाम रजौलस्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गा लिजमा लिएर बनाउने योजना भएपनि अपेक्षा अनुसार निर्माणको काम अगाडि बढ्न नसक्दा अलपत्र जस्तै भएको छ ।

क्रिकेट, भलिबल र कबड्डीमा जनकपुरधामको आफ्नै विरासत छ । जनकपुरधामको रजौलस्थित प्रस्तावित श्री रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय खेल मैदानले आकार लिन सकिरहेको छैन । दशक अगाडिदेखि निमार्णका लागि काम थालिए पनि सम्पन्न हुन सकेको छैन । यो रंगशाला निमार्णसँगै अनुमति पाएको पोखरामा रंगशाला तयार भइसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरधामको रजौल स्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गामा राष्ट्रको पहिचान तथा गौरव इन्टरनेशनल हब संसारकै आकर्षणको केन्द्र धनुष आकारको रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिसकेको छ । सो घोषणा २०७४ साल मसिंर ३ गते तत्कालीन खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले गरेका थिए ।

रंगशालाको लागि जनकपुर उप–महानगरपालिका, वडा नम्बर १४ स्थित १७ विग्घा जग्गा नेपाल गुठी संस्थानले उपलब्ध गराएका छन । नेपाल गुठी संस्थानका कार्यकारी प्रमुख नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशव बिष्टबीच लिखित सम्झौता भए अनुसार गुठी संस्थानले वार्षिक ९ लाखको भाडामा ३० वर्षको लागि राष्ट्रिय खेलकुद परिषद्लाई रंगशाला को लागि उपलब्ध गराएका छन् । लामो समयदेखि अलपत्र बनेको आयोजनालाई पुर्णता दिने मधेस सरकारका खेलकुद मन्त्री मोहम्मद जयद आलमले बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख जनकपुरधाम राजधानी समेत भइसकेकाले यस्ता महत्वाकांक्षी आयोजनामा तीनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहेको मेयर मनोजकुमार साहको भनाई छ ।

रंगशाला प्रचार प्रसारका लागि तत्काल मधेस सरकारको खेलकुद मन्त्रालयको २० लाखको सहयोगमा घेराबेराका लागि तारवारको काम गरी उपमहानगरको २० लाख सहयोगमा क्रिकेट पिचको निर्माण भइरहेको छ । वार्षिक ९ लाख रुपैयाँ निमार्णका लागि खर्चिने गरिएपनि अझै रामजानकी रंगशालाले आकार लिन सकेको छैन । अपेक्षा अनुसार निर्माणको काम अगाडि बढ्न नसक्दा रंगशाला अलपत्र हुनु खेलकुद क्षेत्रको लागि लज्जाको विषय हो ।