Breaking

उपराष्ट्रपतिको निर्वाचनअघि नै सरकारी निवास छाड्दै नन्दबहादुर पुन


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले आज (२ चैत) सरकारी निवास छाड्ने भएका छन् । लैनचौरस्थित सरकारी निवासबाट चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको निजी निवासमा सर्ने तयारी गरिएको हो ।

आज दिउँसो १२ बजे सरकारी निवासबाट सर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पुनका लागि दहचोकमा निजी निवास निर्माण भइसकेको छ ।

नयाँ उपराष्ट्रपतिको लागि भोलि शुक्रबार (३ चैत) निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवासमा सर्न लागेका हुन् ।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेललाई फागुन २९ गते शीतलनिवासमा स्वागत गरिएको थियो ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही दिन निजी निवास सरेकी थिइन् । उपराष्ट्रपतिका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

उता जनमत पार्टीले समानुपातिक सांसद ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा संघ र प्रदेशका ८ सय ८१ सांसदले मतदान गर्नेछन् ।