Breaking

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि जसपाको एक सिट रिक्त छ ।

मुस्लिम क्लस्टरको पहिलो नम्बरमा नाम भएकी सांसद रहमानको १३ फागुनमा निधन भएको थियो । पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम भएकाले उनकै विषयमा बैठकबाट निर्णय हुने जसपाका नेताहरु बताउँछन् ।

बैठकमा शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल हुने छ । सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार छन् । सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवार भएकाले कुनै एकजना उम्मेदवार मात्र कायम गर्ने विषयमा गठबन्धनभित्र छलफल हुँदै आएको छ । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्दैछ ।