काठमाडौँ — आगामी चैत्र तीन गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपति पदका लागि शनिवार दलहरुले मनोनयन दर्ता गराएका छन । राष्ट्रपति चुनावमा सरह उपराष्ट्रपति पदका लागि पनि एक्लो एमाले र आठ दलीय गठबन्धन भिड्दैछन । राष्ट्रपतिको निर्वाचन लगत्तै राष्ट्रिय राजनीति उपराष्ट्रिपतिको निर्वाचन केन्द्रित बनेको छ । आगामी चैत्र तीन गते हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिवार दलहरुले उम्मेदवारी दर्ता गराएका छन ।
उपराष्ट्रपति पदका लागि चारजनाको उम्मेदवारी परेको छ । संविधानको संरक्षण गर्न सक्ने योग्य, जनजातिको छोरा भन्दै पार्टी र सहानुभुतिसहित जनजाति सांसदको समेत भोट प्राप्त गर्ने तर्क सहित सुवास नेम्वाङलाई राष्ट्रपति चुनावमा उठाए । तर नेम्वाङले आफ्नो दल बाहेक बाहिरको एक भोट पनि पाएनन् । राष्ट्रपतिमा नमिठो हार बेहोरेको एमालेले फेरि उपराष्ट्रपतिमा पनि हेभीवेट, पार्टी उपाध्यक्ष नेतृ अष्टलक्ष्मी शाक्यलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
प्रदेशमा सात हजार ५ सय ५ र र संघीय संसदमा ७ हजार ७ सय ७६ मतभार रहेको एमालेले नेम्वाङलाई राष्ट्रपति बनाउन दौडाह गरे पनि नतिजा शुन्य रह्यो । एमालेभित्रको राजनीतिमा लामो समय ओली भन्दा टुक्रिएर गएको माधव कुमार नेपाल निकट रहेर सक्रिय राजनीति गरेका शाक्यलाई नेपालको सहयोगको आशमा एमाले छ । चुनावी मतभारमा पहिलो दल नेपाली कांग्रेस, तेस्रो शक्ति माओवादी केन्द्र, चौथो एकीकृत समाजवादी सहितको गठबन्धनले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिको रुपमा उतारेका छन । गठबन्धनभित्र पूर्व सहमति अनुसार जसपाका रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको अडान नछाडेपछि जसपाले प्रमिला यादवलाई पनि उम्मेदवार बनाएको छ । उपराष्ट्रपति निर्वाचनमा पनि मतभारका आधारमा गठबन्धनका उम्मेदवार सुरक्षित छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुुर देउवाको कित्ता फेरबदल नहुन्जेल गठबन्धनकै उम्मेदवारको विजय सुनिश्चित छ । गठबन्धनमै रहेका अर्काे दल जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी छिन् ।
झालाई लोसपा र नागरिक उन्मूक्ति पार्टी समर्थन गरेका छन । गठबन्धनको निर्णय अनुसार नै उम्मेदवार उठाएको जनमत पार्टीको भनाई छ । यसलाई छलफलबाट टुङग्याउने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन ।
राष्ट्रपतिमा गठबन्धनका उम्मेदवारलाई भोट गरेको रास्वपाले कता भोट खसाल्छ भन्ने टुङगो भएको छैन । भोट नै नहालेको राप्रपा पनि मौन छ । गठबन्धनका दलहरुले अन्तिम उम्मेदवार कसरी र कसलाई बनाउछन् चासोमा छ । तथापि उपराष्ट्रपति निर्वाचनमा पनि गठबन्धनका नयाँ उम्मेदवार र एमालेका पाका र पुराना उम्मेदवारबीचको भिडन्त पक्कै चासोपूर्ण बनेको छ ।
प्रतिक्रिया