Breaking

ओलीमाथि अर्काे प्रहार, देउवालाई धराप थापेर प्रचण्ड ढाल्ने (भिडियोसहित)


काठमाडौँ — बहुप्रतिक्षित राष्ट्रपतिको निर्वाचन सकिएसँगै दलहरुको ध्यान सत्ता केन्द्रीत बनेको छ । सत्तागठबन्धनमा आवद्ध दलहरु भागबण्डाको तयारीमा छन्, प्रमुख विपक्षी एमाले समीकरण फेरबदलको गृहकार्यमा छ । जुन राष्ट्रपतिको निर्वाचनमा समेत प्रकट भएको छ ।

राष्ट्रपति चयनको मतदानअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद भवन बाहिर पत्रकारसँग ठट्टा गरे । राष्ट्रपति निर्वाचनमा तपाईहरु एक्लिनु भयो नी ? भन्ने प्रश्नमा ओलीको जवाफ आयो एक भोटमात्रै आउला त यसपल्ट ?

ओली बुझियो भन्दै निस्किनुअघि अर्काे गम्भीर सन्देशसमेत दिएर निस्किए । जुन थियो नेपाली काँग्रेससँग मिल्ने कुरा । पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीकै प्रस्ताव गरेका ओलीले त्यो सम्भावना राष्ट्रपतिको निर्वाचनपछि पनि बलियो बनेको संकेत गर्दै सम्भावना देखाए । नेपाली काँग्रेससँग नमिल्ने कसम नखाएकाले जुनसुकै बेला सहकार्य हुनसक्ने सन्देश दिएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई पाएपछि सत्ताको धेरैथोक गुमाएको नेपाली काँग्रेसले एकथोक तर सबथोकभन्दा कम पाएको छैन । र जीवनकालभर प्रधानमन्त्रीको चाहना गरेका पौडेलले अन्तिममा राष्ट्राध्यक्ष हुने स्वर्णिम अवसर पाएका छन् । योसँगै पहिलो शक्ति भएर पनि संसदीय अंकगणितको गठजोडले झण्डै विपक्षी कित्तामा थन्किएको काँग्रेसमा अब पाउनेक्रम सुरु भएको छ । सरकार हुँदै राज्यका भागबण्डामा काँग्रेसको बलियो वर्चश्व हुनेछ । त्यो भन्दा ठूलो काँग्रेस सभापति शेरबहादुर देउवा जुनसुकै बेला प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

देउवाले चाहेको भए राष्ट्रपतिको निर्वाचनअघि पनि प्रधानमन्त्री हुन सक्थे । तर राष्ट्रपति प्राप्तिलाई प्रमुख बनाएको काँग्रेसले माओवादीकै समर्थनमा पाउने सजिलो विकल्प पाएपछि एमाले अध्यक्ष ओलीको प्रस्तावलाई देउवाले लत्याएका थिए ।

यद्यपि सत्ता गुमाउनुको छटपटीमा रहेका ओलीले राष्ट्रपति पनि गुमाएपछि संसद भवनबाटै काँग्रेससँग मिल्ने सन्देश प्रवाह गरेका छन् । यसले देउवालाई प्रधानमन्त्री बनाएर जाने बाटोमा एमाले अघि बढेको स्पष्ट भएको छ । तर काँग्रेसले यतिसजिलै ओलीको सन्देशलाई स्वीकार्ने संकेत गरेको छैन । आफ्नै बलबुतामा ब्यूँतिएको गठबन्धनलाई पाँचै वर्ष टिकाएर जाने दाबी काँग्रेसमा कायमै छ ।

ओली र देउवा सहकार्यको सम्भावना यसकारण पनि बलियो छ कि, प्रचण्ड र ओली मिल्ने सम्भावना केही समयलाई अन्त्य भएको छ । राष्ट्रपतिमा प्रचण्डबाट धोका भएकै कारण गुमाउनुको शोकमा परेका ओलीको नीति प्रचण्डबाट सत्ता खोस्नु बनेको छ । जुन काँग्रेसको समर्थन बिना सहज छैन । राष्ट्रपति नै पाइसकेपछि देउवा पनि प्रचण्डलाई दबाबमा राख्ने नीतिमा रहनेछन् । सत्ता नै सबथोक बनाउँदै आएका देउवामा फेरि प्रधानमन्त्री बन्ने हुटहुटी कायमै छ ।

जसको प्राप्ति अब देउवाले चाहेको पलभरमा सफल बन्नेछ । चैत ११ अघि विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्रीलाई भोट नदिएपनि सरकार ढल्नेछ । एमाले पनि देउवामा रहेको पदमोहलाई कमजोरी बनाएर समीकरण फेरबदलको कसरत गरिरहेको छ । झन बहालवाला प्रधानमन्त्रीमाथि सर्वाेच्चमै मुद्दा दायर भएपछि यसै दिनगन्ती सुरु भएको छ । कदमकदाचित निवेदककै माग बमोजित सर्वाेच्चले फैसला गरिदिए प्रचण्ड सत्तामा नभई जेलमा रहने सम्भावना बलियो छ । जुन ओली–देउवाका लागि ‘ढुंगा खोज्दा देउता भेट्टाए’जस्तो हुनेछ । तथापी पार्टीभित्र गठबन्धन टिकाउनुपर्छ भन्ने मत बाँकी नै रहेका बेला देउवा यतिचाँडै प्रचण्डसँग सम्बन्ध विच्छेदको तहमा पुग्लान् भन्ने सम्भावना कमजोर नै छ ।