काठमाडौँ – काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मान्ने गरिन्छ ।
आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् ।
आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होलदी पर्व सुरु भएको मानिने बताए ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
प्रतिक्रिया