Uncategorized

समीकरण


काठमाडौँ – समीकरण फेरबदल भएर सरकार बन्दा रास्वपा र राप्रपाको भूमिकालाई लिएर जनता निकै उत्साहित थिए । आश्चार्यचकित पार्दै उदाएका यी दुई शक्ति सरकारमै सामेल भएपछि आशाको ग्राप झन चुलियो । तर दुई महिनाको अवधिमा यी दुबै दल अन्योलको राजनीतिमा फसेका छन् ।

३३ दिनसम्म खाइपाई आएको गृहमन्त्रालय सर्वाेच्चको फैसलासँगै गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अन्योलपूर्ण अक्करमा फसेका छन् । आजभोलि न सरकार, न गठबन्धन रवि दुवैतिर भूमिकाहिन जस्तै छन् । धन्न निर्वाचन आयोगले रविको सांसद पद गुमेपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचनको घोषणा गरिदिएसँगै रविलाई राहत मिलेको छ । अहिले उनी चितवन केन्द्रीत बनेका छन् । तर महानायकलाई खलनायक बनाएको भन्दै संसदमा रास्वपाका सांसदको असन्तुष्टि छताछुल्ल भइरहेको छ ।

पार्टी र सरकारभन्दा पनि सांसद पद नै गुमाएर निर्वाचनमा होमिनुपर्ने बाध्यता र राहदानीमाथि चलिरहेको छानबिनका कारण रवि अलमलमा छन् । राष्ट्रपतिको निर्वाचन केन्द्रीत हानथापमा राष्ट्रिय राजनीति फसेका बेला रास्वपाको आफ्नो अडान देखिएको छैन । ओलीतिर लचक रहँदै आएका रवि प्रचण्डलाई चिड्याउँदा थप राजनीतिक नोक्सानी ब्यहोर्नुपर्ने जोखिममा छन् । फलतः सबै भूलेर निर्वाचन केन्द्रीत कार्यक्रम र चितवनका मतदातामाझ व्यस्त बन्नु रविको बाध्यता बनेको छ ।

सार्वजनिक मञ्चबाटै एमाले अध्यक्ष ओलीले रविलाई ‘हामी जिताउँछौं’ भन्ने अभिव्यक्ति दिएता पनि ओली–प्रचण्डकै असहयोगमा अदालतको फैसला चाँडै आएको बुझाई रविमा परेको छ । फलतः उनी अबको सत्ता समीकरण कता जान्छ उतै जानुपर्ने बाध्यतामा छन् । रविकै जस्तो अवस्था राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि छ । सरकारमा सहभागि हुँदा पार्टीभित्र सहमति जुटाउन सफल भएपनि मन्त्री छनोटदेखि लिङ्देन आफ्नै गतिविधिका कारण आलोचित छन् । गणतन्त्रको विरोध गर्दा प्रधानमन्त्रीबाटै खाएको हप्की र राष्ट्रिय राजनीतिमा एक्लिनुपर्दा पनि अध्यक्ष लिङ्देन चुइक्क नबोलेको भन्दै पार्टीभित्रै असन्तुष्टि छ ।

ओलीकै इशारामा चलेको आरोपमात्रै उनीमाथि छैन कि, दुईमहिना वित्दा पनि कार्यसम्पादन नदेखिएपछि सरकारमा जानुको औचित्यमाथि सवाल खडा भएको छ । सार्वजनिक मञ्चमै उनी आफ्नै नेता कार्यकर्ताबाट अपमानित हुनुपरेको छ । लिङ्देनलाई यतिबेला समीकरण फेरबदलको रस्साकस्सीमा नलागि सरकारबाट बाहिरिएर राष्ट्रपतिको निर्वाचन नै बहिष्कार गर्नुपर्ने मत पार्टीभित्रबाट आइरहेको छ । जुन उनका लागि सहज छैन ।

प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र जस्ता प्रभावशाली नेताहरु अहिले लिङ्देनको पक्षमा छैनन् । सदनमा ज्ञानेन्द्र शाही र धवलशमसेर जस्ता नेताहरुले सरकारकै विरोध गरिरहेका छन् । फलतः नयाँ उत्साहसहित निर्वाचनमा उदाएर सरकारमा हाम फालेका यी दुवै पार्टी अहिले रक्षात्मक बनेका छन् । राजनीतिको खास खेलमा खालमा खारिएर खेलाडी बनेकाहरुको खाडलमा पुगेर चेपिएका उनीहरुको अस्तित्वहरणकै प्रयास हुँदा कसरी उम्किएलान् भन्ने प्रश्न पनि छ ।