Breaking

काठमाडौँमा नेपाल-भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता सुरु


काठमाडौँ – नेपाल भ्रमणका लागि केही बेरअघि काठमाडौँ आइपुगेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्र सचिव पौडेलसँग भेटवार्ता सुरु गरेका छन् ।

होटल याक एन्ड यतीमा क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरिरहेका हुन् । भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ । भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ । नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले कुरै सुन्न चाहेको छैन । तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा समेटेर नक्सा बनायो । त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले अस्वीकार गरिरहेको छ ।

क्वात्राले आजै दिउँसो २ बजे परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी दिउँसो ३ बजे उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।

यसपछि बेलुकी ६ बजे क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।