Breaking

चलचित्र विकास बोर्डले आफ्नो तस्बिर राखेकोमा विजय लामाको आपत्ति


काठमाडौँ — चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको नेपालस् सिनेमा फेस्ट २०२३ मा आफ्नो स्वीकृतिबिना तस्बिर राखेको भन्दै कलाकार विजय लामाले आपत्ति जनाएका छन् । कार्यक्रमलाई लिएर विवादास्पद कुराहरू बाहिर आइरहेका बेला स्वीकृतिबिना आफ्नो तस्बिर राखिएको भन्दै उनले फेसबुकमार्फत आपत्ति जनाएका हुन् । उनले यस्तो कार्यक्रममा आफ्नो संलग्नता नहुने बताएका छन् । साथै उनले आफ्नो स्वीकृतिबिना तस्बिर नचलाउन आग्रह गरेका छन् ।

केही समययता यो कार्यक्रम लिई विवादास्पद कुराहरू अनि समाचारहरू सामाजिक सञ्जालमा छ्यापछ्याप देख्न थालेको छ । अचम्मको कुरा के भने मेरो पनि तस्बिर पोस्टरमा देखेँ। न मलाई यसबारे जानकारी नै छ । न निमन्त्रणा नै । न मलाई सहभागिता जनाउन समय नै छ ।

यसरी लिखित स्वीकृतिबिना मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ उनले लेखेका छन् । बोर्डले उक्त फेस्टिभलमा विजय लामाको सहभागिता रहने भन्दै तस्बिर राखेको थियो । बोर्डले माघ २९ गतेदेखि फागुन ३ गतेसम्म दुबईमा गर्न लागेको फेस्टिभलमा सूर्य कर्पोरेसनसँग सहकार्य गरेको भन्दै विरोध भइरहेको छ। सूर्य कर्पोरेसनलाई मनोरञ्जनको आवरणमा मानव तस्करी गरेको आरोप छ।