Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

पृथ्वीजयन्तीमा बिदा दिने निर्णयप्रति आदिवासी जनजाति महासंघको आपत्ति, सशक्त आन्दोलनको चेतावनी

पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिनु प्रतिगमनको पहिलो कदम : अध्यक्ष शेर्पा


काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा बनाउने र सार्वजनिक बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ ।

सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रममा पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने उल्लेख छ । न्युनतम साझा कार्यक्रमलाई मन्त्रिपरिषदको बैठकले अनुमोदन गरिसकेको छ ।

ऐतिहासिक तथ्य बंग्याउँदै पृथ्वीनारायणको राज्य विस्तारलाई नेपाल एकीकरण र पृथ्वीनारायणलाई राष्ट्रिय एकताको प्रतिकको रूपमा निर्माण–पुनःनिर्माण गर्नु आदिवासी जनजातिमाथिको अत्याचार भएको महासंघले बताएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै कुनै एक व्यक्तिको बलमा नभई सम्पूर्ण नेपालीको बलमा नेपाल निर्माण भएको बताएको छ । ‘कुनै एक व्यक्ति वा राजा-महाराजाको कारणले नभई सम्पूर्ण नेपाली जनताको योगदानले नेपाल सार्वभौम रहेको तथ्य जगजाहेर छ,’ महासंघले विज्ञप्तिमार्फत भनेको छ ।

महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गेल्जे शेर्पाले गणतन्त्रमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको प्रतिगमनकै पहिलो कदम हुने बताउनु भएको छ । शेर्पाले भने-‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको राजा महाराजाको भक्तिगान गाउनु हो, यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम हो ।’
लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा समानताको अभ्यास गर्नुको सट्टा राजा, महाराजाको जन्मजयन्ती मनाउनु प्रतिगामी विचार भएको महासंघको भनाइ छ । ‘भौगोलिक एकीकरण गर्दा भएका गल्ती स्वीकार गर्दै समानतामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई विस्तार गर्नुपर्ने यो घडीमा राजा-महाराजाको गाथा गाउनु र गाउन लगाउनु निरर्थक मात्रै होइन, प्रतिगामी विचार हो ।’ ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

महासंघले मन्त्री तथा सांसदको सथप ग्रहणमा दौरासुरुवाल र खस भाषालाई मात्र राष्ट्रिय पोशाक र राष्ट्र भाषा बनाउने राज्यको क्रियाकलाप संविधानको भावना र मर्ममाथिको ठाडो प्रहार भएको भन्दै विरोध जनाएको छ ।

यसले नेपालको राष्ट्र र राष्ट्रियताको गलत व्याख्या गरी बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता रंगीन विविधताको उपहास गर्नुका साथै संविधानसभाबाट जारी नेपालको संविधानको भावना र मर्ममाथि समेत ठाडो प्रहार गरेको हाम्रो ठहर छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले राज्यको पछिल्लो गतिविधिले ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धीहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक/समावेशी व्यवस्थामाथि गम्भिर चुनौती थपिएकोसमेत बताएको छ । सबै जाती, भाषा, धर्म र संस्कृतिको साझा सहमति र संकल्पमा मात्रै राष्ट्रिय एकता खोज्नुपर्ने भन्दै महासंघले कुनै राजा महाराजाको जन्मदिनलाई एकताको दिवस र प्रतिक मान्न कदापी नसकिने र संघीय नेपालमा एकात्मक सोच र चिन्तनबाट गरिने यस्ता गतिविधिहरू तत्काल सच्याउन आग्रहसमेत गरेको छ ।

राज्य विस्तारका क्रममा पृथ्वीनारायण र उनका सैनिकले गरेका अत्याचार स्विकारेर वर्तमान राज्यले माफी माग्नुपर्ने महासंघको माग छ । ‘गोर्खा राज्यको विस्तार भनेको आदिवासी जनजातिमाथि ऐतिहासिक–राजनीतिक अन्यायको विस्तार भएको पुनःस्पष्ट पार्दै तथाकथित एकीकरणको गलत इतिहास दोहोर्‍याइरहने र पृथ्वीजयन्ती मनाउन बाध्य पार्ने सबै पक्षप्रति हाम्रो गम्भीर असहमति रहेको प्रस्ट पार्दछौँ ।’ महासंघले भनेको छ, ‘

महासंघले सरकारले आफ्नो आग्रहलाई बेवास्ता गरी थप यस्ता गतिविधिलाई बढावा दिने खालका क्रियाकलाप गरिए सशक्त आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिएको छ ।