Breaking

प्रचण्डले किन पठाए जनार्दनलाई देउवा भेट्न ? विश्वासमा संकट पर्दा प्रचण्डको सक्रियता, माधवको दोमन


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर सत्ता गठबन्धनमै आवद्ध दलहरुले विश्वासको मत दिने परिपक्क वातावरण बनेको छैन । फलतः प्रचण्ड गठबन्धनमात्रै नभई काँग्रेससँग विश्वासको मत माग्न पुगिरहेका छन् । पुस २६ मा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिला आफुले पाएरमात्रै दिने तयारी गरेका छन् ।

विश्वासको मत पाउदिन कि भन्ने अविश्वासकै कारण सरकार विस्तारको काम रोकिएको छ । सरकारमा जान खुट्टो उचालेर बसेका दलहरु भने सरकारको साझा कार्यक्रमका आफ्ना माग सम्बोधनको प्रखाईमा छन् । तथापी शुक्रबारसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने, पुस २६ मा विश्वासको मत लिने र सरकार विस्तार गर्ने तयारीमा गठबन्धन रहेको छ ।

हुनत, मंसिर ४ को निर्वाचनपछि एमाले ओलीकै नेतृत्वमा सरकार बनाउन चाहन्थ्यो । तर सरकार बन्न नसकेपनि ओलीकै हातमा सत्ताको गुथी हुनेगरी यतिबेला प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेलगत्तै शक्ति बाँटफाँट गर्न गठबन्धनसँग मात्रै होइन, गठबन्धनभित्रका दलसँग उनको वान टु वान भेटवार्ता चलिरहेको छ । त्यतिमात्रै नभएर पूर्व सत्ता सहयात्री नेपाली काँग्रेसको संस्थापन र संस्थापनइतर समूहका नेताहरुसँग मत माग्न आफ्ना विश्वासिला पात्रलाई खटाएका छन् ।

देव गुरुङ र बर्षमान पुन ओलीसँग निकट रहेका कारण नयाँ समीकरणसहित माओवादीले सत्ता पाएका बेला काँग्रेससँग नजिक रहेका जनार्दन शर्मालाई प्रचण्डले देउवासँग मत माग्न धुम्बाराही पठाएका छन् । किनकि गठबन्धनभित्र शक्ति बाँडफाँट पेचिलो बनेका बेला प्रचण्ड पहिला आफ्नो सुनिश्चिता खोजिरहेका छन् । अर्काेतर्फ सत्तामा जाने कि नजाने दोधारमा रहेका नेकपा एकीकृत समाजवादी र जसपा रिझाउन पनि प्रचण्डमात्रै नभएर ओली पनि सक्रिय छन् ।

पहिला दोस्रो पुस्ताका नेताहरुले संवाद गर्ने र निर्णायक वार्ताका लागि आफैं जुट्ने ओली–प्रचण्डको नियती जस्तै बनेको छ । बुधबार यसैगरि प्रचण्डले माधवकुमार नेपालसँग संवाद गरेका छन् । प्रचण्डको मुख हेरेरमात्रै विश्वासको मत नदिने तर्क माधवले गरेपछि सिंहदरबारमा बोलाएर प्रचण्डले विश्वासको मत मागेका हुन् ।

त्यसो त, राष्ट्रपतिलाई लिखित रुपमै प्रस्ताव पठाउँदा दलहरुले गरेको हस्ताक्षरलाई हेर्ने हो भने प्रचण्डलाई विश्वासको मत पाउन कठिनाई छैन । सहज रुपमा सरकारले विश्वासको मत पाउने अवस्था देखिएपनि सप्तरंगी गठबन्धनभित्र शक्ति संचयका लागि प्रचण्ड धेरैभन्दा धेरै दलको समर्थन जुटाउने कसरतमा छन् । सरकारमा सहभागि नभएका दलबाट पनि विश्वासको मत पाउने आकांक्षा प्रचण्डमा रहँदा गठबन्धनका नेताहरु ढुक्क देखिन्छन् ।

राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी गर्न प्रचण्डलाई सघाएका दलहरु एक ठाउँमै भएकाले सरकारलाई विश्वासको मत मिल्न त सहज देखिन्छ । तर मत पाइसकेपनि पनि अस्थिर संसदमा ओली–प्रचण्डका लागि भने शक्ति सन्तुलन मिलाउन त्यति सहज छैन । किनकि उपेन्द्र यादव र शंकर पोखरेलजस्ता चुनाव हारेका तर बलियो राजनीतिक प्रभाव रहेका नेताहरु संसद छिर्ने बाटो खोजिरहेका छन् ।

यसका लागि माओवादीबाट निर्वाचित रेखा शर्मालाई उपराष्ट्रपति बनाएर रिक्त पदमा शंकर पोखरेलले उप निर्वाचन लड्ने प्रयास गरेको विषयले आलोचना पाएको छ । फलतः हरुवाहरुको सदन छिर्ने चाहना, उपराष्ट्रपति र सभामुखमा साना दलको आकांक्षा र सांसदहरुमा बढ्दो मन्त्री बन्ने हुटहुटी व्यवस्थापन गर्नु गठबन्धनको सबैभन्दा जटिल विषय बनेको छ ।