Breaking

दोहोरो चेपुवामा देउवा,आफ्नै गुटमा पनि रडाको,घेराबन्दी गर्दै कोइराला पक्ष


काठमाडौँ — मुखमै आएको सत्ता गुमाएर आराम गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रति पार्टीभित्र विपक्षीसमूहको घेराबन्दी बढ्दो छ । देउवाको राजिनामासम्मको माग गरेका उनीहरु विशेष अधिवेशनकै माग गरिरहेका छन् भने आगामी केन्द्रीय समिति वैठक यसकै प्लाटफर्मका रुपमा प्रयोग गर्ने रणनितिमा छन् । प्रदेशदेखि केन्द्रसम्म सरकार र प्रदेश देखि राष्ट्र प्रमुखसम्मगुमाएर रित्तो बनेका कांग्रेस सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पार्टीभित्रै घेराबन्दीमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको फड्कोले आगामी पाँचवर्षका लागि सर्वस्व गुमाएका उनका लागि अहिले आफ्नैहरु समेत आफ्ना भएका छैनन् ।हातमा आएको सत्ता फुत्किएपछि देउवा समूहमा समेत विवाद छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेताहरू माओवादीलाई पहिलो कार्यकाल दिएर भए पनि कांग्रेसले सत्ताको साँचो हातमा लिनुपर्छ भन्नेमा थिए । तर प्रवक्ता डा प्रकाशशरण महत, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र आरजु राणासहितका नेता त्यसको विपक्षमा उभिए । यता डा.शेखर कोईरालाले त आफूहरुले पहिलेबाटै गठबन्धन नगरौ भन्दै आएको नै बताईसकेका छन । उनीपक्षिय नेता गुरुराज घिमिरेले देउवाको राजिनामा नै माग्दा विशेष अधिवेशनको समेत चर्चा सुरु भएको छ । जसका लागि आगामी केन्द्रीय समिति वैठकलाई उपयोग गर्ने रणनितिमा रहेका उनीहरुले छुट्टै गुटभेला गरेर एजेण्डामा छलफल समेत गरिसकेका छन ।

आफ्नै पार्टीका नेता कार्यकर्ताको साथ गुमाउने अवस्था तथा रणनीतिक रुपमा असफल भएपछि अहिले देउवा पार्टीभित्रै रक्षात्मक अवस्थामा छन । यहि अवसर र कार्यकर्तामा देखिएको अन्तुष्टिलाई क्यास गर्नसंस्थापनइतर समूहले भने आफ्नो गुट बलियो बनाउने रणनीति अघि बढाएको छ।तर यहि परिस्थितीमा पनि प्रदेशहरुको संसदीय दलको नेता चयनमा भने संस्थापन पक्षले नै वर्चश्व जमाएको छ। जसले हौसिएका देउवा पक्ष अन्य नेताहरु भने अहिले महामन्त्री गगन थापासहितलाई घण्टी कांग्रेसको संज्ञादिदै कारबाही गर्नुपर्ने पक्षमा उभिएका छन ।

उनीहरु यो परिस्थिती आउनुमा शेखर समुहले गठबन्धनमा गर्दै आएको असहयोग तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो भाग बढाउन देउवालाई प्रधानमन्त्री नछोड्न दिएको दवावसम्मलाई जोडिरहेका छन । हिजो संविधान र व्यवस्था जोगाउन भन्दै प्रधानमन्त्री बन्दिन हात जोडेकाहरु नै संविधान र प्रतिगमन विरुद्ध जानेको काखमा जानु देउवाको दोष नभएको उनीको तर्क छ । जहाँ महामन्त्री र दोश्रो तहको नेताको भूमिका,प्रचण्डकै संसदीय दलमा अर्जुनरसिंह केसि र शेखर कोईरालाले गरेको घण्टौको वार्ताको प्रतिफलमाथि पनि अहिले प्रश्न छ ।

भित्र घेराबन्दीको ज्वाला सल्किदा पनि कार्यकर्तालाई थुम्थुम्याउने प्रयासमा भने दुवै पक्षका नेताहरु छन । फलत ः यो अवसरलाई पार्टीको शुद्धिकरण र संगठन विस्तारमा लगाउनु पर्ने बताउने उनीहरु अरुलाई दोष देखाएर उम्किन नमिल्ने बताईरहेका छन । आगामी वैठक यसैको निर्मम समिक्षा गर्न र आगामी वाटो तय गर्नका लागि उपलब्धीमुलक हुने विश्वासमा रहेका उनीहरु एक पटक सभापतिलाई स्वाद चखाउने सोचमै छन ।

यद्यपी अहिले नै देउवाले भने भावी रणनीतिका बारेमा अहिले केही बताएका छैनन् ।पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण समारोहमा शीतल निवासमा देखिएका देउवा त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । १६ को मेलमिलाप दिवसका अवसरमा पार्टी सभापतिको तर्फबाट औपचारिक विज्ञप्ति पनि जारी नगरेका उनी अहिले आफ्नै गुट र ईतर पक्षको दोहोरो चेपुवामा परेका छन । यसैको उपज उनी सातै प्रदेशमा आफू निकटका केन्द्रीय सदस्य भेला गर्ने निर्णय गरेर आन्तरिक विवाद सोहि प्रदेशमा समाधान गर्ने वाटोमा लागेको देखिन्छ । जसले केन्द्रीय समिति बैठक सर्दा वैठक ईतर गुटको प्रतिरक्षा गर्ने रणनितिक तयारीमा पनि गरिरहेका छन ।