Breaking

टक्कर लिने काँग्रेसको संकेत, सरकार ढाल्ने मूड, गठबन्धनको भर नहुँदा सरकार संकटमा पर्ने प्रक्षेपण


काठमाडौँ — सरकारको पहिलो हकदार भएपनि सत्ता गुमाएको नेपाली काँग्रेसले खरो प्रतिपक्षी बन्ने उद्घोष गरेको छ । र फरक फरक स्वार्थ जडित गठबन्धन लामो समय नटिक्ने दाबी समेत गरिदिएको छ । संसदको सबैभन्दा ठूलो दल भएर पनि सत्ताको सबै गुमाएपछि नेपाली काँग्रेस भाग खोसिएको पीडामा छ । सात दलीय समर्थन जुटाएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने काँग्रेसरहित गठबन्धन बनाउने कसरतमा छन् ।

त्यसका लागि संसदका अधिकांश दलहरुसँग निकट रहेका उनीहरु सक्ने जति सबै दिने तयारीमा छन् । तर हिजोसम्म मौन विलापमा रहेको काँग्रेस अब टकरावमा उत्रिने संकेत गरेको छ ।आफैंलाई गलहत्याएर बनेको गठबन्धन धेरै दिन टिकाउ नहुने भन्दै काँग्रेसले आयु नै नाप्न थालेको छ ।

पुस १० मा सत्ता गुमाएपछि पहिलोपटक औपचारिक फोरमबाट बोलेको काँग्रेसले एमाले नेतृत्वको नयाँ समीकरणलाई विशुद्ध पदपूर्तिको गठबन्धन भनेको छ । राजावादी, संविधानविरोधी रसंघीयताविरोधी एकै ठाउँमा उभिएको भन्दै विचार नमिल्ने गठबन्धनको आयु छोटो रहेको दाबी प्रवक्ता महतले गरेका छन् ।किनकि सरकारलाई समर्थन जनाएका दलहरु नै भागबण्डाका विषयले घुर्की र फुर्कीको राजनीतिक दाउपेचमा छन् ।मन्त्रीमण्डलदेखि प्रदेश बाँडफाँटमा उनीहरुका आ–आफ्नै दाउ छन् ।

राष्ट्रपति एमालेकै भागमा परेपनि सभामुख, उपराष्ट्रपति लगायतका पदमा गठबन्धनका अन्य दलको दाबीले झनै सकस परेको छ । प्रदेश खारेजीकै कुरा गर्ने राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री मागेपछि त्यसलाई झनै सकसपूर्ण मानिएको छ । यसैलाई हेरेको काँग्रेसले चाँडै विमेल आएर गठबन्धनको भत्किने आश देखाएको हो । तर सबैलाई मिलाएर जानसक्ने नेतृत्व भएकै कारण काँग्रेसको त्यो सपना पुरा नहुने गठबन्धनवादी नेताहरु बताउँछन् ।

गठबन्धनभित्र रहेको अविश्वासकै कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछिमात्रै सरकार विस्तार गर्ने नीति लिएका छन् ।तर जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहितका दलहरुले पहिलामाग सम्बोधनमा सहमति खोजिरहेका छन् ।फलतः खिँचडी पकाएर खिरको धाक लगाइरहेको गठबन्धनमाथि शंकाको सुविधा छ ।

तथापी नेपाली काँग्रेस अब प्रतिपक्षी बेञ्चको प्रमुख हकदारमा सीमित बनेका छ । नचाहेर सत्ता गुमाएको काँग्रेसलाई पुनरागमन सहज छैन । ठूला वामपन्थी दलहरु नै एउटै मोर्चामा उभिएकाले आगामी निर्वाचनपछि पनि अवस्था के हो भन्न सकिन्न ।तथापी छोटो समयभित्रै सत्ताको लेनदेनमा सफल भएका ओली–प्रचण्डबीच सहज तरिकाबाटै सहकार्य चल्छ भन्नेमा आशंका छ ।