Breaking

तोला ल्होसार अर्थात् तमु ल्होसार


काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार । ‘ल्हो’ले वर्ग अथवा वर्ष र ‘सार/छार’ले नयाँ भन्ने बुझाउँछ । गुरुङहरूले विगत २६०३ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी त गर्छन्, तर कहिलेदेखि यो पर्व मनाउन थालियो भन्ने यकिन इतिहास छैन ।

हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग/वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो भोट पात्रोमा आधारित हुन्छ । यसपालि हे ल्हो’ अर्थात् (बिरालो वर्ग) वर्ग परेको छ । गुरुङको हरेक शुभ/अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ ।

पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका हुन् । नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् ।

कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरियो, जसलाई तोला ल्होसार भनिन्छ । अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ ।

ल्होसार कृषिसँग सम्बन्धित छ । तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनुअगाडि भिन्न रूपमा ल्होसार मनाउने गरेको इतिहास पाइन्छ । तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व (हार्भेस्ट फेस्टिभल) मनाउने गर्थे । पछि त्यही पर्वलाई ल्होसारमा रूपान्तरण गरियो । त्यस सन्दर्भमा यो पर्व किसानको पर्व हो, जसलाई तोला ल्होसार भनिन्छ। आजसम्म प्राप्त ऐतिहासिक स्रोत अनुसार, नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हुँदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ । त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात् प्रकृतिपूजक थिए । त्यतिबेलैदेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ ।

फरक–फरक समुदायले मनाउने ल्होसारको नाम पनि फरक–फरक छन् । गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा लगायत हिमाली समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ ।

पितृपूजा
यो पर्वमा विशेष कर्मकाण्ड केही हुँदैन । बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता (पितृपूजा) गरिन्छ । मिष्ठान्न भोजन बनाएर पितृलाई चढाइन्छ । घर सरसफाइदेखि ध्वजा (लोंदर) फेर्ने काम हुन्छ । यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ । दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ। खानामा विशेषतः गुरुङहरूको सेलरोटी नै हो। यसबाहेक अहिले चिसो मौसम भएकाले मौसमअनुकूल न्यानो हुने झोलिलो पदार्थ, कन्दमूल–तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकार लगायत पौष्टिक आहार खाने चलन छ ।

सांस्कृतिक महत्व
तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ । यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ । त्यसकारण यस पर्वलाई उनीहरूको पहिचानको मूल कडीका रूपमा लिइएको छ । सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति भल्काए जस्तै, यस पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषवूशा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ। यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ ।

यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ । गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन् । गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो । यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ ।

पहिले यो पर्व परिवार र समुदायमा मात्र सीमित थियो। ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइँ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय बनेको छ । यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन् । गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास सुरु भइसकेको छ ।

यो पर्व गुरुङको संस्कृति, सभ्यता र समग्र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भए पनि पछिल्लो समय यसलाई मनाउने तौर–तरिका केही खर्चिलो र भड्किलो भएको आलोचना हुन थालेको छ । यस्ता आलोचनालाई सकारात्मक रूपमा लिएर अब उप्रान्त ल्होसार पर्व कसरी मनाउने भन्नेबारे गुरुङ समुदायले पुनर्विचार गर्न आवश्यक छ ।