Breaking

जुम्ला : गठबन्धन र एमालेलाई ज्ञानेन्द्र शाहीको डर


काठमाडौँ – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ ।

जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभातर्फ चारजना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीनजना चुनावी मैदानमा होमिएका छन्। प्रदेश (२) मा १ स्वतन्त्रसहित चारजना उम्मेदवार छन् ।

वि.सं. २०६४ मा नेकपा (माओवादी केन्द्र) २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो।

वि.सं. २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए। पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिका प्रमुख र तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो ।

माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ। एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ । एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गर्न सकेन। जिल्लाका ६० वडामध्ये ६ वडाध्यक्ष मात्रै एमाले जितेको छ ।

राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन। एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार छ सय ५५, माओवादीको छ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ। राप्रपाको पाँच सय ४० मत रहेको छ।

प्रतिनिधिसभामा त्रिपक्षीय प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गोमा गौतम कुँवर, एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन् । वि.सं. २०७० को चुनावमा माओवादीबाट सामानुपातिक सांसद हुँदै पशुपन्छी विकास राज्यमन्त्रीसमेत भएकी गौतमलाई अहिले सत्तारुढ कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि जिल्ला पार्टी इञ्जार्च तथा केन्द्रीय सदस्य पूर्व तिला गाउँपालिका अध्यक्ष भएका योगीलाई चुवानी मैदानमा खडा गरेको छ ।

वि.सं. २०७४ मा एकमात्रै स्थानीय तह जितेको एमालेले गत वैशाख ३० मा भएको स्थानीय चुनावमा कुनै पनि पालिका जितेको छैन । जिल्लाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका राप्रपाका प्रवक्ता शाही सत्ता गठबन्धनका र एमालेका बलिया उम्मेदवारका लागि चुनौती बनेका छन्। उनको शक्तिलाई यहाँ आमचासोका रुपमा यहाँ हेरिएको छ।

उनले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ ।

गाउँ गाउँमा उम्मेदवार
राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका छन् ।

निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचारप्रसारमा कडाइ गरेपछि प्रचारशैली फेरिएको छ ।उम्मेदवारलाई जिताउन घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन् ।

निर्वाचन आयोगले यही कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएपछि अहिले जिल्ला तहका नेता चुवानीसभालाई सम्बोधन गर्ने गाउँ केन्द्रित भएका छन्।

मतदाता भेटघाटसँगै टोलटोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक थप बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा घरदैलो कार्यक्रममा राजनीतिक दल लागि परेका छन् ।

मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा राजनीतिक दलका उम्मेदवार केन्द्रित भएका छन्।

बागीकै डर
प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जुम्लामा (१) मा गठबन्धनबाट कांग्रेसका ललितजङ्ग शाहीविरुद्ध त्यही दलबाट देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन् ।

ललितजङ्ग २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए भने देवेन्द्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महतसँग हारेका थिए ।

कांग्रेसले टिकट नदिएपछि देवेन्द्र प्रदेशसभामा बागी बनेका हुन्। ९१० मा एमालेका जिरेन्द्रराज गिरी र नेमकिपाका राजेश्वर देवकोटा पनि चुनावी मैदानमा छन् ।

प्रदेशसभा (२) गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन् । उनी ०७४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट विजयी हुनुभएका थियो ।

रोकाया हाल कर्णाली प्रदेशका भौतिक तथा सहरी विकासमन्त्रीसमेत हुन्। ९२० मा पनि गठबन्धनले बागी भोग्दै छ । कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका छन्। राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बृखबहादुर रावत पनि (२) बाट चुनावी मैदानमा छन् ।

आठवटा स्थानीय तह रहेको जिल्लामा ८३ मतदानस्थल र एक सय छ मतदान केन्द्र छन्। जिल्लाको कूल मतदाता सङ्ख्या ६८ हजार छ सय ३८ जना रहेको छ ।

प्रदेश (१) को मतदाता सङ्ख्या ३६ हजार सात सय ८३ जना, प्रदेश (२) मा ३१ हजार आठ सय ५५ जना मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।