Breaking

राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन् । ‘हामी भोलि अबेर मात्र पुग्छौं, पर्सि राष्ट्रपतिले वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्नुहुनेछ,’ ढकालले भने ।

सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको ढकालले नेपालखबरलाई जानकारी दिए । सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो । जसलाई मन्त्रिपरिषदले त्यतिबेलै स्वीकृत गरेको थियो ।

उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन् ।