Breaking

आज सबै मतपत्र छपाइ सम्पन्न हुने


काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको काम आज सम्पन्न हुने भएको छ ।

प्रत्यक्षतर्फ केही जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी रहेकाले आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र पठाउँदैछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ४ प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।

हिजो मनाङ र मुस्ताङ जिल्लाको मतपत्र हेलिकोप्टरबाट ढुवानी भएसँगै ४ वटा प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भएको हो । आयोगले सुरुमा समानुपातिकतर्फको मतपत्र छपाई सम्पन्न गरेर प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु गरेको थियो ।

यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्ने छ ।