समाचार

मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु


काठमाडौँ – रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको हो ।

उपचारका लागि तानसेन लैजाँदै गर्दा गएराति बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेकी दमिनीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।