Breaking

अमेरिका–रुस टकराव, अमेरिकाले दियो यस्तो चेतावनी


काठमाडौँ — सधैं चिसिरहने रुस र अमेरिकाको सम्बन्धमा थप तिक्तता बढेको छ । रुसले पछिल्लो समय गरेको कार्यको विरोध गर्दै अमेरिकाले धम्कीपूर्ण चेतावनी दिएको छ । जसका कारण यी दुई ठूला राष्ट्रबीच फेरि पनि दुरी बढेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकाले त्यसप्रति प्रतिक्रिया जनाएको छ । गत बुधबार राष्ट्रपति पुटिनले आणविक आक्रमणको धम्की दिएपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरे ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्नुपर्ने भन्दै चेतावनी दिएका हुन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ सुलिभानले भनेका छन् ।

सुलिभानले आफ्नो टिप्पणीमा अमेरिकाले चाल्न सक्ने कदमको स्वरूपबारे केही नबताए पनि रुसलाई निजी तवरमा यसको अर्थ के हुनसक्छ भन्ने विस्तृत जानकारी भएको बताए । केही दिनयता युक्रेनको अवस्था र पुटिनको कार्य र धम्कीमाथि आफूहरुले नजिकबाट नियाली रहेको पनि उनले बताएका छन् । यसअघि पनि संयुक्त राष्ट्र संघको महासभामा अमेरिकी समकक्षी जो बाइडेनले आणविक अप्रसार जिम्मेवारीहरूको लापरबाहीपूर्ण ढंगले बेवास्ता गर्दै युरोपविरुद्ध स्पष्ट आणविक धम्की दिएको आरोप लगाएका थिए । यसैबीच रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसी फौजले नियन्त्रणमा लिएका युक्रेनी भूभागलाई रुसमा गाभ्ने नीति अनुरूप पूर्वी युक्रेनका चारवटा क्षेत्रमा जनमतसंग्रह पनि गर्दैछ । जसको राष्ट्र संघले भत्सर्ना गरेको छ ।

पुटिनले दोश्रो विश्व युद्धपछि पहिलो पटक ‘युद्धकालीन सैनिक परिचालन’ गर्ने घोषणा गरेपछि रुसमा नै पनि पुटिनको तीव्र विरोध प्रदर्शन भएको छ । ३ लाख रुसी नागरिकलाई जबरजस्ती युद्धमा खटाईने भएपछि उनको विरोधमा नागरिक उत्रिएका हुन् । तर, सरकारले प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको जनाएको छ । अन्तरर्राष्ट्रिय स्तरमा दुई ठूला र शक्तिशाली राष्ट्र रुस र अमेरिकाबीचको सम्बन्ध सधैं चिसिनै रहन्छ । आर्थिकदेखि सैनिक हरेक क्षेत्रमा प्रतिष्पर्धी यी दुई देश आफूलाई अब्बल देखाउन सदा प्रयासरत नै छन् । यस्तो प्रयासले यी दुई राष्ट्रबीच दिन प्रतिदिन दुरी बढिरेको छ ।