Breaking

दशैंको अग्रिम टिकट बुकिङ खुल्यो, कहाँ जान कति भाडा ?


काठमाडौँ — यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार आज विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको जनाएको छ ।

यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

विभागका अनुसार दशैंमा काठमाडौँ छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नेरगराउने सहमति भएको थयो ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने विभागले जनाएको छ ।

कोभिड(१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने र यसका लागि यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गरिने बताएको छ ।

अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्नेरगराउने योजना रहेको विभागले जनाएको छ । ।

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ ।