केन्याबिरुद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार नैरोबीस्थित जिमखाना मैदानमा नेपालले घरेलु टिम केन्यालाई ७ विकेटले पराजित गर्यो । केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पार गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले ११० रन जोड्ने क्रममा १२० बलमा १२ चौका र २ छक्का हिर्काए ।
अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे । ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए । कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले नटआउट ३ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट १५ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्या ४८.१ ओभरमा २१८ रनमा अआउट भयो । केन्याका लागि राखेप पटेलले ६७ रन र कोलिन ओबुयाले ६२ रनको योगदान गरे । बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिन सफल भए । २१९ रनको लक्ष्य पाएको नेपालले केही बेरमा ब्याटिङ गर्दैछ ।
नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि खेलमा कप्तानी रोहितकुमार पौडेलले गरे । सिरिजको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुनेछ । यसअघि नेपाल र केन्याबीच पाँच खेलको टी-२० सिरिज भएको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भएको थियो । तर टी-२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएर १६औं स्थानमा पुगेको थियो ।
प्रतिक्रिया