काठमाडौँ — यतिवेला बैंकहरुमा पैसाको चरम अभाव छ । व्याजदरको प्रतिशत दोहोरो अंकमा पुगिसकेको छ । नयाँ व्यवसाय खुल्न सकेका छैनन् भने पुरानाले पनि बैंकबाट कर्जा पाएका छैनन् । जसले गर्दा आन्तरीक उत्पादनमा नकारात्मक असर परेको छ । गत आर्थिक वर्ष २०७८÷७९ बाटै शुरु भएको तरलता अभाव चालू आर्थिक वर्ष ०७९÷८० सम्म आइपुग्दा समेत समाधान हुन सकेको छैन । अहिले वाणिज्य बैंकहरूको कर्जा दिन सक्ने क्षमता पहिलो महिनामै खस्किएको छ । विगतमा बैंकहरूले असोजसम्म कर्जा प्रवाह गरेर बाँकी महिनाहरूमा तरलताको संकटको सामना गरेको थियो । यो वर्ष साउनमै बैंकहरूले स्रोत अभाव व्यहोर्नुपरेको छ ।
बैंकहरूको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) औसत ८८.०७ प्रतिशत पुगेको छ ।नेपाल बैंकर्स एसोसिएसनका अनुसार २६ वाणिज्य बैंकमध्ये तीनवटाको सिडीले सीमा नाघेको छ । राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ । यद्यपि, वाणिज्य बैंकहरूको औसत सिडी रेसियो भने ८८.०७ प्रतिशत छ । असार मसान्तअघि ९० प्रतिशतभन्दा तल ल्याएको सिडी रेसियो अहिले फेरि उक्लिन थालेको छ ।एसोसिएसनका अनुसार साउनमा सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र नेपाल बैंकको यस्तो अनुपात ९० प्रतिशतभन्दा माथि छ ।ग्लोबल आइएमई, हिमालयन, कुमारी, एनसिसी बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंकको समेत यो सीमा ८९ प्रतिशत कटेर ९० प्रतिशत पुग्ने क्रममा छ ।
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप साउन लागेयता १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकले यस्तो सीमा कटेमा बैंकहरूलाई मासिक औसत कायम कर्जा रकम र ९० प्रतिशतका आधारमा हुनुपर्ने कर्जा रकम घटाएर बैंकहरूले लिइरहेको बैंकदर गणना गरेर हर्जाना लगाउने गरेको छ ।सरकारको पनि लगानी रहेका तथा केही ठूला वाणिज्य बैंकहरुकै निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) सीमाभन्दा बढी पुुगेको छ । सीडी रेसियो बढीमा ९० प्रतिशतमात्र हुन पाउने व्यवस्था भएपनि सरकारको पनि लगानी रहेका र व्यालेन्ससीटको आकार तुलनात्मक रुपमा ठूलो भएका बैंकहरु नै सो सीमाभन्दा बढी पुुगेको तथ्यांकले देखाएको छ ।
जसले गर्दा बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा मै प्रत्यक्ष असर परिरहेको छ, यसलाई नियन्त्रणमा लिन आन्तरीक उत्पादन बढाउदै व्यापार घाट कम गर्नु पर्ने विज्ञको सुझाव छ । यसैविच, बैंकिङ प्रणालीबाट एक महिनाको अवधीमा नै १ खर्ब रुपैयाँभन्दा बढी निक्षेप बाहिरिएपछि बैंकहरु सीडी रेसियो सीमा नाघ्ने अवस्थामा पुगेका हुन् । कर्जा रकम थोरै मात्रामा भएपनि बढेको तर निक्षेप बढ्नुको साटो एक महिनाको अवधीमा नै १ खर्ब भन्दा बढीले प्रणालीबाट बाहिर गएपछि सीडी रेसियोमा दबाब परेको विश्लेषण गरीएको छ । जसले तरलता संकट थप दवावमा छ ।
बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार गत असार मसान्तमा वाणिज्य बैंकहरुसँग ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन मसान्तमा आइपुुग्दा यस्तो निक्षेप घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सिमित भएको छ । साउन महिनामा मात्रै वाणिज्य बैंकहरुमा निक्षेपको रुपमा रहेको १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरिएको छ ।एक महिनाको अवधिमा बैंकिङ प्रणालीबाट १०८ अर्ब रुपैयाँ निक्षेप गायब भएको छ । यही रकमको कारण बैंकहरु अहिले सीडी रेसियोको दबाबमा छन् ।
प्रतिक्रिया