Breaking

विश्व कीर्तिमानी आरोही सानु शेर्पालाई प्रधानमन्त्रीले गरे सम्मान


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वकीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गरेको हुन् ।

कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुई पटक सफल आरोहण गरेर विश्वकीर्तिमान कायम राखेका छन् । त्यस्तै निमा ग्याल्जेन शेर्पाले आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

पासाङ ल्हामु शेर्पाले पाकिस्तानको नाङ्गा पर्वत आरोहण गरेर पहिलो पटक महिला आरोहीको कीर्तिमान कायम गरेका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कीर्तिमानी आरोहीले हिमाल आरोहणमा बनाएको कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा थप पहिचान प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पर्वतारोहीको प्रसंशा गरेका थिए ।

कीर्तिमानी आरोहीलाई नगदसहित राष्ट्रिय सम्मान गर्नेगरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई निर्देशन समेत दिएको छ ।

कीर्तिमानी आरोहीका साथमा पर्यटनमन्त्री श्रेष्ठ, सांसद जिपछिरिङ लामा शेर्पा, पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पालगायत पर्यटन व्यवसायीहरु बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्रीबाट सम्मान भएलगत्तै आरोही टोलीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।