Breaking

प्रदीप गिरिको पार्थिव शरीर दिउँसो सानेपामा राखिने, अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि


काठमाडौँ — नेपाली कांग्रेसका विचारक नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको हो ।

गिरिको शनिबार राति साढे ९ बजे निधन भएको हो । उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७५ वर्षका गिरि घाँटीको क्यान्सरबाट पीडित थिए । विश्वकर्माले गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने विश्वकर्माले बताएका छन् । त्यसपछि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । बिहान साढे ११ बजेदेखि दुई बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।

प्रतिनिधिसभा सदस्य गिरिको दुई सातादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । भारतमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरिलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।