Breaking

लोकतान्त्रिक शेर्पा संघको अध्यक्षमा नाम्गेल शेर्पा सर्वसम्मत चयन


काठमाडौँ – नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो महाधिवेशनबाट अध्यक्षमा नाम्गेल शेर्पा सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूवप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले नाम्गेल शेर्पाको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शेर्पा गत स्थानीय तह निर्वाचन अघि माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नुभएको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्याशी तथा योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पा निर्विरोध चयन हुनुभएको छ भने उपाध्यक्षमा पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङवाङ निमा शेर्पा र ल्हाक्पा शेर्पा चयन हुनुभएको छ । महासचिवमा आङ पेम्बा शेर्पा उप-महासचिव मिग्युर शेर्पा निर्वाचित चयन हुनुभएको छ ।


संघले शेर्पा जातीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ । शेर्पाजातीको धर्म,भाषा,कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको कामसंघले गर्दैआएको छ । सुचीकृत ५९ आदिवासी जनजातिमध्ये शेर्पा पनि एक हो । महाधिवेशनमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी करिब तीनहजार सहभागी रहेको संघले जनाएको छ । महाधिवेशनमा शेर्पाहरुको बाहुल्यता रहेको सोलुखुम्बु, रामेछाप, ओखलढुङगा, भोजपुर, संखुवासभा, ताप्लेजुङ लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभगी रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष शेर्पाले लोकतान्त्रिक शेर्पा संघमार्फत समुदायभित्र राजनीतिक सचेतना जगाउनुका साथै हक अधिकार प्राप्तीका लागि पार्टी गत रुपमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
शेर्पा समुदायभित्र पनि पार्टी निकट संगठनहरुले दुर दराजमा रहेका शेर्पाहरुमा राजनीतिक सचेतना वृद्धि गर्न मद्धत गरेको महाधिवेशन प्रतिनिधि ङवाङ तेन्जी शेर्पाले बताउनुभयो ।

समुदायको राजनीति प्रतिनिधित्व र अधिकार प्राप्तीका लागि संघले महत्वपूर्ण भूमिकानिर्वाह गरेको उहाँले बताउनुभयो । हिमाल आरोहणमार्फत विश्व चर्चित रहेको शेर्पा समुदायले पछिल्लो समय राजनीतिक क्षेत्रमा समेत सक्रियता बढाएको देखिन्छ । तथापी, राजनीतिक दलहरूले शेर्पा समुदायको अर्थपूर्ण प्रतिनिधित्व र सहभागीताका लागि भने कतिजोडवल गर्छन भन्ने विषय आफैमा सोचनीय छ ।