Breaking

दावेदार मानिएको नेपाल एकाएक प्रतियोगिताबाटै बाहिरिने संघारमा, प्रशिक्षकले नैतिकता देखाउँदा एन्फा कति जिम्मेवार?


काठमाडौँ — भारतसँगको खेलअघि उपाधि दावेदार मानिएको नेपाल भारतसँगको खेलपछि भने एकाएक प्रतियोगिताबाटै बाहिरिने संघारमा पुगेको छ । हारको पछि प्रशिक्षकले नैतिकता देखाउँदै राजीनामाको घोषणा गर्दा यसमा एन्फाको जिम्मेवारी कति रहँला ? भारतसँग खुला सीमाना भएको नेपाल भूगोलमा भारतभन्दा २२ गुणाले सानो छ । संस्कृतिदेखि भेषभूषा, भाषा, वर्ण सबै मिल्ने नजिकको छिमेकी राष्ट्र भए पनि नेपालको हरेक खेलको जितमा भने भारत नै बाधक बन्ने गरेको इतिहास छ । त्यही इतिहास पुन आईतबार भएको उमेर समूह खेलमा पनि दोहोरियो ।हाल भारतको भुवनेश्वरीस्थित कालिंगा रंगशालामा ५ राष्ट्र सम्मिलित साफ यु२० च्याम्पियनसिप भइरहेको छ ।

प्रतियोगितामा माल्दिभ्सलाई ४–० को अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेलमा पनि श्रीलंकालाई ३–० गोलले हार चखायो । तर, आईतबार भएको तेस्रो खेलमा भने नेपाल भारतसँग ८–० को फराकिलो गोलले हार्न पुग्यो । भारतसँगको खेल अघि प्रमुख उपाधि दावेदार मानिएको नेपाल भारतसँगको खेलपछि भने एकाएक प्रतियोगितबाटै बाहिरिने संघारमा पुगेको छ । भारतसँगको त्यो हारले नेपालको फुटबल अवस्था कहाँ छ भनेर प्रमाणित गरिदिएको छ । यद्यपि, त्यो लज्जास्पद हार आफ्नो गल्तीका कारण भएको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले स्वीकारेका छन् । साथै, उनले नेपाल फाइनलमा नपुगे नैतिकताका आधारमा राजीनामा दिने घोषणा नै गरेका छन् ।आफ्नो स्वार्थका कारण नेपाली फुटबललाई डुब्न नदिने भन्दै राजीनामाको घोषणा गरेका केसीले मात्रै नैतिकता देखाउनु पर्ने हो वा नेपाली फुटबलको सर्वाेच्च निकाय भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पैसा कमाउने उद्योग बनाईरहेका र राजनीति गर्ने थलो बनाएकाहरुले पनि नैतिकता देखाउनु पर्ने हो ?


यहाँ प्रश्न खेलाडी र प्रशिक्षकलाई भन्दा बढी एन्फालाई तेर्सिन जरुरी छ । किनभने ६ हप्ताको टिम छनौटले उमेर समूहको साफ जित्ने सपना देख्नु सान्दर्भिक पक्कै हुँदैन । त्यसमाथि पनि भारत र बंगलादेश जस्ता राष्ट्रका विरुद्ध । जो बिगत ४ वर्ष देखि एउटै क्लबमा व्यवसायीक लिग खेलिरहेका छन् । भारतीय टोलीमा रहेका युवा खेलाडीहरु भारतको दोस्रो डिभिजनको आई लिग खेल्दै छन् । जसमा भारतले १२ वर्षदेखि उदाउँदा खेलाडीहरुका लागि लगानी गर्दै आईरहेको छ । त्यस्तै बंगलादेशले पनि युवा खेलाडीको उत्पादनका लागि २०२१ देखि लगानी गर्दै आईरहेको छ । यस्तोमा नेपाल भने प्रतियोगिताको मुखैमा आएर खेलाडी छनौटमा तदारुपता देखाउँछ र खेलाडीबाट भने ठूलो सफलाको आश गर्छ ।

फुटबल भावनाले पक्कै जितिँदैन । खेल जित्नका लागि खेलाडी उत्पादनसँगै लगानी पनि गर्न जरुरी छ । तर, नेपालमा भने भएका एकेडेमी पनि बन्द अवस्थामा छ । खेलाडीहरु फुटबलमा भविष्य नदेखेर विदेशी रहदा सरोकारवाला निकाय एन्फा भने फुटबलको मुद्दा भन्दा पनि पदाधिकारी नियुक्तिमा नै समय खर्च गरिरहेको छ । यसले नेपाललाई दिने भनेकै निराशा मात्रै हो ।अब मंगलबार फाइनल यात्राका लागि ९ अंकसहित शीर्ष स्थानमा रहेको बंगलादेश, ६ अंक जोडेको भारत र समान अंक रहेको नेपालले प्रतिष्पर्धा गर्दैछ । माल्दिभसले भारतलाई पराजित गरेको खण्डमा नेपाललाई बंगलादेशसँगको बराबरी नै काफी हुनेछ भने भारतले जितेमा नेपालले बंगलादेशलाई ६ गोलको अन्तरले हराउनु पर्ने समीकरण बनेको छ । दुई टिम श्रीलंका र माल्दिभ्स भने फाइनलको सम्भावनाबाट बाहिरिसकेका छन् ।