काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ ।
सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।
समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
त्यस्तै, समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरू राखिएको तर सर्वसम्मत हुन नसकेको बताए ।
करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिको म्याद ७ दिन थपिएको थियो ।
१४ जेठ राति नौ बजे अर्थमन्त्रालयमा अरु नै व्यक्ती प्रवेश गरि बजेट र करको दायरा हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप लागेपछि २२ असारमा गठित ११ सदस्यीय टोलीले अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका महानिर्देशक लगायतसँग बयान लिएको थियो।
प्रतिक्रिया