Breaking

मन्त्रीका लागि मरिहत्ते गर्नेहरुको गैरराजनीतिक अभिव्यक्ति,माओवादी मन्त्रीहरु पनि अटेरी बन्ने संकेत


काठमाडौँ — सत्ता छोड्नुको पिडा कस्तो हुन्छ भन्ने कुरा नेकपा एकीकृत समाजवादीका नेताहरुले प्रमाणित गरिदिएका छन । संविधान र गणतन्त्रको रक्षाका लागि पार्टी नै फुटाएका उनीहरुलाई सरकारबाट फिर्ता बोलाउन पार्टीलाई नै हम्मेहम्मे पर्यो । अन्तिम समयसम्म अनेक तिकडम गरेका उनीहरु अन्ततः रुदैरुदै मन्त्रालयबाट बाहिरिएका छन् । पदलोलुपताको यो रोग अन्य पार्टीमा समेत सर्ने संकेत देखिएको छ । जेठ २४ अघि नै दौरासुरुवाल सिलाएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र हिरा केसीले २४ दिनपछि वल्ल सोमबार सपथ ग्रहण गर्न पाए ।

६ महिनामा मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको पूर्व निर्णय भएको भन्दै एकीकृत समाजवादीले प्रधानमन्त्रीकै सल्लाहमा नयाँ मन्त्रीको को नाम सिफारिस गर्यो । तर भर्खरै जन्मेको पार्टीमा मन्त्रीकै लागि भएको हानथापले यो निर्णय कार्यान्वयका लागि झण्डै १ महिना पर्खिनु परेको हो । जुन निर्णय विरुद्ध गुटबन्दी गरेका ४ जना मन्त्रीले १३ जनाको हस्ताक्षर भेला पार्ने देखि वालुवाटार र खुमलटारको यात्रा समेत गरेका थिए । उनीहरुको गतिविधि अध्यक्ष माधवकुमार नेपाललाई भारी परिहेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड पनि यसैमा खेलिरहेका थिए ।

अन्तत ः बाध्यतावश राजिनामा दिएकी रामकुरमारी झाक्रीले यसलाई सहज रुपमा लिन सकिनन् । निकै भावुक देखिएकी उनले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ मन्त्रीको नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेको भन्दै गुनासो गरिन् । पार्टीका मन्त्री बन्न र बनाउन चाहने नेताहरुले मन्त्री भएको ६ महिना हुनासाथ दिन गन्न शुरु गरेको खुलाँउदै उनले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको गुनासो गरिन । यता अर्का मन्त्री प्रेम आलेको भनाई त अराजनीतिक नै देखियो । अध्यक्ष विरुद्ध सफ्ट विद्रोह गरेका उनले अन्तत राजिनामा दिएपनि शिर्षस्थ नेताहरुको दवाका कारण सोचेजस्तो काम गर्न नपाएको बताए । पदमा हुन्जेल चुपचाप बसेका उनले राजिनामका लागि आयोजित पत्रकार सम्मेलनमा मुखको तितो पोखे ।

यता स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानले त राजिनामा समेत दिएनन् । खतिवडाले पार्टीले आफूहरुलाई फिर्ता बोलाएर मन्त्रीमा अन्यको नाम सिफारिस गरिसकेका कारण आफूले राजीनामा दिइरहन नपर्ने बताएका थिए भने मन्त्री पद नछाड्ने मनसाय आफ्नो नभएको बताएका श्रेष्ठले पनि मन्त्रिपरिषद् पुनर्गठन भए आफू स्वतः बाहिरिने भएकाले राजीनामा दिन आवश्यक नभएको बताएका थिए । दुवैलाई बर्खास्त गरेर नयाँ मन्त्री आएपछि वोलेका किसान श्रेष्ठले राजीनामा दिने अपराध नगरेको बताए । पार्टीको सिफारिसमा मन्त्री भएको र पार्टीकै सिफारिसमा फिर्ता भएको भन्दै नियमित प्रक्रियाका रूपमा बुझ्न आग्रह गरेका उनले पार्टीले फिर्ता बोलाएपछि पार्टी नै छोड्न लागेको भनेर गरेको प्रचारमा सत्यता नभएको दाबी गरे ।पद लोलुपताको यो रोग माओवादीमा समेत सरेको छ ।

समाजवादीको मन्त्री परिवर्तनपश्चात यो दवाव अन्य घटमा पनि सर्ने आकंलनकावीच अर्थमन्त्री जनार्दन शर्माले कसैले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन । हुन त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफ्ना मन्त्रीतिर लक्षित गर्दै आफूले पद पाएपछि नछाड्ने रोग देखिएको अभिव्यक्ती दिएका थिए । केही मन्त्रीहरुबाट आएको राजीनामा आफ्नो गोजीमा रहेको उनको भनाईकावीच दुई मन्त्रीले राजिनामा पनि दिए । तर दुई जनालाई भने राजिनामाका लागि तयार भएनन् । जुन प्रवृत्तीको संकेत अन्य घटका दलका मन्त्रीहरुले पनि दिन थालेका छन । फलत ः यदि मन्त्री फेर्ने दवाव आए समाजवादीको हालत अन्य पार्टीले नव्यहोर्लान भन्न सकिदैन ।