Breaking

साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने


काठमाडौँ — बागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले एकान्तकुना र गुर्जुधारा र पोखरामा रहेको यातायात कार्यालयमा पूर्वाधार तयार गरिएकाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको हो ।

नामकरण भइसकेका प्रदेशमातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सवारीहरुमा चरणबद्ध इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।

प्रचलित ऐन तथा नियममा भएको व्यवस्थाबमोजिम सवारीहरुमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन बागमती प्रदेश र गण्डकी प्रदेश भनेको छ।

‘एकान्तकुना, गुर्जुधारा र पोखरामा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन भए÷नभएको सम्बन्धमा २०७९ साउन १ पछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गर्ने’, सूचनामा उल्लेख छ, ‘तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुनेछ ।’

२०७८ फागुनसम्म कुल १७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।मोटरसाइकलमा २५ सय, चारपांग्रेमा ३२ सय र ठूला साधनमा ३६ सय रुपैयाँ शुल्क तोकिएको छ ।

इम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन फर्म भर्नुपर्छ । अनलाइन फर्मसहित दस्तुर बुझाएको रसिद, नागरिकताको प्रतिलिपि, सवारी धनी र सवारीदर्तासम्बन्धी विवरण भएको ब्लुबुकको प्रतिलिपि, हालसम्म सवारी कर चुक्ता भएको प्रमाणित गर्ने कागजात सम्बन्धित यातायात कार्यालयमा बुझाउनुपर्नेछ ।