Breaking

नौ मत हराएको भन्दै पोखरामा एमालेको विरोध


काठमाडौँ — पोखरा महानगरको मतगणना गर्दा वडा नम्बर १८ को ९ मत हराएको भन्दै एमालेले विरोध जनाएको छ ।
मतदानपश्चात् गरिएको मुचुल्का अनुसार मतगणना गर्दा ९ मत कम भेटिएकाले पुन मतगणना गर्न माग राखेको एमाले पोखराका अध्यक्ष दिलिप न्यौपानेले बताए । हाम्रो माग फेरि मतगणना गरौं भन्ने हो, हराएको मत भेटिन सक्छ उनले भने नभेटिए एउटा सहमति गरौंला, सेटिङमा मतपत्र गायब पारियो कि भन्ने हाम्रो आशंका हो ।’

विगतमा एमालेको किल्ला भनिएको वडा नम्बर १८ मा ४ हजार ३४८ मत खसेको मुचुल्कामा उल्लेख छ ।
मतगणना गर्दा भने ४ हजार ३३९ मत मात्र भेटिएको थियो । उक्त मतगणना सकिँदा एमालेका वडा अध्यक्ष उम्मेदवारले १ हजार ६४० मत पाएको थियो भने कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले १ हजार ६४३ मत पाएका थिए ।

कांग्रेस र एमालेका वडा अध्यक्षबीचको मतान्तर जम्मा ३ मत भएकाले हराएको भनिएको ९ मत फेला परे एमालेले जित्न सक्न उनीहरूको अपेक्षा छ । एमालेले वडा नम्बर ३१ को पनि पुनस्मतगणना गर्न माग गरेको छ । उक्त वडामा पनि मुचुल्का भन्दा कम मतपत्र भेटिएको एमालेको दाबी छ ।