Breaking

सोचेको भन्दा राम्रो नतिजा आयो: रेनु दाहाल


काठमाडौँ — भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले सोचेको भन्दा पनि राम्रो नतिजाका साथ विजय हाँसिल भएको प्रतिक्रिया दिएकी छन् । विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले आफ्नो अनुमान ३ देखि अधिकतम ७ हजारसम्मको मतान्तरसहित विजयी हुने भएपनि त्यो भन्दा बढी मतान्तरसहित विजयी हुनु भनेको जनताको माया र विश्वासको कारण भएको बताइन् । उनले आफूलाई विजयी गराउने भरतपुरका सबै मतदाताप्रति धन्यवाद प्रकट गरिन् ।

‘दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिँदा आम मतदाताको साथ । सहयोग, माया र हौसला पाएँ । यो परिणामले पनि देखायो’, उनले भनिन्, ‘हाम्रो पहिलो कार्यकालको कामको मूल्यांकन गर्दै सोचेको भन्दा राम्रो नतिजा प्राप्त गरेका छौँ ।’ उनले विगतका अधुरा कामहरु र जनताले गरेका अपेक्षा पुरा गर्नका लागि लागिपर्ने पनि बताइन् । जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाउँदै दाहालले भरतपुरलाई नमुना सहर बनाउने सङ्कल्पलाई पुरा गरिछाड्ने दृढता पनि जनाइन् ।

उनले आउने दिनमा कहीँकतै आफ्नो ठाउँबाट सक्रियता र योगदानमा कमी हुन नदिने भन्दै उनले बरु अनुभव प्राप्त भएकाले यहाँका आवश्यकता र प्राथमिकता पहिचान गरेर अघि बढिने बताइन् । मेयरका रुपमा आफ्नो अन्तिम कार्यकाल हुने भन्दै उनले यसलाई एक सेकेन्ड पनि खेर नफालीकन जनतालाई निराश हुन नदिने सो क्रममा बताइन् ।