Breaking

नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको शपथ, जनताको सेवामा कटिबद्ध रहने प्रतिवद्धता


काठमाडौँ — मधेश प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । साथै उनीहरुले आगामी दिनमा जनताको सेवामा कटिबद्ध रहने प्रतिवद्धता पनि जनाएका छन् । बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विजयी भएका सर्लाहीका २० वटा स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले शथप ग्रहण गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा जिल्लाको ९ वटा नगरपालिका र ११ वटा गाउँपालिकाकामा निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुब कुमार पियाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

जिल्लामा निर्वाचित भइसकेका २० वटै पालिकाका प्रमुखहरु मध्ये मलंगवा नगरपालिको प्रमुख नागेन्द्र प्रसाद यादव, ईश्वरपुर नगरपालिकाको प्रमुख मनोज कुमार आचार्य, कबिलासी नगरपालिकाको प्रमुख ब्रह्मदेव राय, गोडैता नगरपालिकाको प्रमुख देवेन्द्र यादव, बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवाल, बलरा नगरपालिकाको प्रमुख रामा शंकर प्रसाद कुशवाहा, बागमती नगरपालिकाको प्रमुख भरत कुमार थापा, लालबन्दी नगरपालिकाको प्रमुख बासुदेव अधिकारी, हरिपुर नगरपालिकाको प्रमुख गोपाल पंजियार, हरिपुर्वा नगरपालिकाको प्रमुख बिनोद साह तेली र हरिवन नगरपालिकाको प्रमुख रमेश बुढाथोकीले सपथ लिएका हुन ।

त्यस्तै कौडेना गाउँपालिकाको प्रमुख रुपेश कुमार,चक्रघट्टा गाउँपालिकाको प्रमुख कृष्ण कुमार यादव, चन्द्रनगर गाउँपालिकाको प्रमुख राज कुमार महतो, धनकौल गाउँपालिकाको प्रमुख रामआश्रय साह, पर्सा गाउँपालिकाको प्रमुख धिरेन्द्र राय, बसबरिया गाउँपालिकाको प्रमुख राम सिंहासन राय, ब्रह्मपुरी गाउँपालिकाको प्रमुख राम पदारथ साह तेली, रामनगर गाउँपालिकाको प्रमुख राजाबाबु यादव र विष्णु गाउँपालिकाको प्रमुख जवाहरलाल यादवले पद तथा गोपनियताको सपथ लिएका हुन । सो अवसरमा उनीहरुले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

सोही अवसरमा मधेश प्रदेश सांसद श्यामपरी देवी र उनका श्रीमान रामलखन दासले नवनिर्वाचित पालिका प्रमुखहरुलाई सफल कार्यकालको शुभकामना दिंदै दोसल्ला ओढाएर सम्मान गरेका छन् । नवनिर्वाचित पालिका प्रमुखहरु सँगै स्थानीय निर्वाचनमा अहोरात्र खटेर निर्वाचन सम्बन्धि पलपलको हरेक खबरहरु सम्प्रेषण गरेर जनतालाई सुसूचित गरेको भन्दै सर्लाही जिल्लाका क्रियाशील पत्रकारहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतले जनप्रतिनिधिहरुले जनताको पीर मर्का बुझेर पालिकाको काम कारबाही अगाडि बढाउने विश्वार व्यक्त गरे ।

ध्रुव कुमार पिया, प्रमुख निर्वाचन अधिकृत एवं न्यायाधीश
सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं न्यायाधीश पिया, मधेस प्रदेश सांसद श्यामपरी देवी,संविधान सभा सदस्य हरिचरण साह,जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,चारवटै सुरक्षा निकायका प्रमुख लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।