काठमाडौँ — एन्फा चुनाव नजिकिएसँगै उम्मेदवारहरुको अनुहार पनि थपिदै गएको छ । गत शुक्रबार वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेसँगैसोमबार पनि अध्यक्षका लागि दुई अनुहार थपिएका छन् । एन्फामा निर्वाचनको माहोल बन्दै गर्दा उम्मेदवारहरु राष्ट्रिय राजनीतिको झल्को दिने गरि प्रस्तुत भइरहेका छन् । उम्मेदवारहरु एकअर्का प्रति कटाक्ष वाणीका साथ खनिएका छन् । वरिष्ठ उपाध्यक्षले अध्यक्षलाई भ्रष्टचारीको संज्ञा दिइरहँदा, भ्रष्टाचार भएको भए त्यसको हिस्सा कार्यसमितिका पदाधिकारी पनि हुने संस्थापन पक्षको अभिव्यक्ति छ ।
गत चुनावमा पनि चेन्ज एन्फाको नारा लिएर एन्फा अध्यक्ष बनेको कर्मा छिरिङ शेर्पाले यसपटकको निर्वाचनमा पनि आफ्नो दावेदारी पेश गरे । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै शेर्पाले प्यानलसहित उम्मेदवारीको घोषणा गरेका हुन् । पछिल्लो चार वर्षे कार्यकालमा आफूलाई विकासको पक्षमा काम गर्न बाधा हाल्नेहरु अहिले चुनावमा पनि आफूविरुद्ध लागेको आरोप शेर्पाले लगाएका छन् । आर्थिक अनियमितता चरम अवस्थामा पुर्याएको र भ्रष्टाचारमा शुन्य सहनशीलता विपरीत काम गरेको आरोप लागिरहदा शेर्पाले पूर्वाध्यक्षलाई इंगित गर्दै फुटबललाई आफ्नो घर चलाउने माध्यम नबनाउन आग्रह गरे ।
एन्फामा व्यापक आर्थिक अनियमितता भईरहेको कार्यसमितिकै सदस्यले भनिरहँदा फिफामा यसको नकारात्मक असर परेको इन्द्रमान तुलाधारको बुझाइ छ । तुलाधरले यसअघि जसका विरुद्ध परिवर्तन गर्छु भनेर एन्फा नेतृत्वामा आए ६ महिना पनि टिक्न नसकी उसैको शरणमा पुग्नु परेको असन्तुष्ट समूहलाई कटाक्ष गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली फुटबलमा चार वर्षको आफ्नो कार्यकालमा शेर्पाले पुराना व्यथितिलाई परिवर्तन गरेको र विकासका कामलाई अघि बढाएको हुँदा यसको निरन्तरताका लागि पनि आगामी चुनावमा शेर्पा प्यानललाई विजयी गराउन उपाध्यक्ष उपेन्द्रमान सिंहले अपील गरे ।
शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् । शेर्पा चार वर्षअघि पनि अत्याधिक बहुमतका साथ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै आज नै छुट्टै एक कार्यक्रमको आयोजना गर्दै राजीवराज पौड्यालले पनि अध्यक्षको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि असन्तुष्ट समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्षमा मनोनयन दर्ता गरिसकेका छन् । उसैको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का उठ्ने भएका छन् । एन्फाको २१औं चुनावी साधारण सभा असार ६ गते हुँदैछ ।


प्रतिक्रिया