काठमाडौँ — आज प्रिमियर लिगमा १० खेलहरु हुँदैछन् । आजको खेलसँगै २०२१÷२२ सिजनको अन्त्य पनि हुँदै छ । सिजनको अन्त्य हुँदै गर्दा लिग विजेता हुनलाई भने अन्तिम खेलको नै प्रतीक्षा गर्नु परेको छ । विश्वको सर्वाधिक लोकप्रिय र रुचाइएको फुटबल लिग हो ईपीएल अर्थात् इङ्लिस प्रिमियर लिग । जुन सिजनको अन्त्य आज हुँदैछ । लिगको अन्तिम दिनसम्म आइपुग्दा पनि लिग विजेता देखि अन्य थुप्रै प्रश्नको उत्तर पाउन सकेको छैन । त्यसैले पनि यो लिग विश्वभर लोकप्रिय बनेको छ ।
सबैभन्दा मुख्य प्रश्न उपाधि कसले उचाल्छ ? आगामी वर्ष च्याम्पिय लिग कुन कुन क्लबले खेल्छन् ?रेलिगेसनमा पर्ने अन्तिम क्लब कुन हुने हो ? यी सबैको उत्तर आइतबार राति पौने ९ बजे पछिको ९० मिनेट पछि मात्रै थाहा हुनेछ । सामान्यतया यी सबैको उत्तर केही खेल अघि नै आइसक्छ । तर, ईपीएलको मज्जा नै यही छ, नतीजा कुर्न अन्तिम दिनको खेल नै पर्खनुपर्छ । दस वर्षपछि मात्र यस्तो संयोग जुरेको छ ।
लिगको उपाधि होडमा रहेका छन् शीर्षस्थानको म्यान्चेष्टर सिटी र एक अंकले पछि रहेको लिभरपुल । सिटीले आफ्नो अन्तिम खेल एस्टन भिल्लाविरुद्ध घरेलु मैदान इतिहादमा खेल्दै गर्दा लिभरपुलले पनि उल्भसको आतिथ्य गर्ने छ । सिटीलाई उपाधि जित्न लिभरपुलभन्दा केही सहज भने छ । सिटीलाई आफ्नो जित मात्र पनि काफी हुने छ । लिभरपुललाई भने जितसँगै सिटीको हार पनि आवश्यक रहने छ ।
सिटी र भिल्लाको खेल केही कुराले पनि खास छ । लिभरपुलका लिजेण्ड खेलाडी स्टेफिन जेरार्ड भिल्लाको प्रशिक्षकमा छन् । खेलाडी जीवनमा लिभरपुललाई लिग दिलाउन नसकेका जेरार्डले आफु अनुकुल नतीजा निकाल्दै फरक क्लब र भूमिकाबाट लिभरपुललाई मद्दत गर्न सक्छन् । यस खेलमा सिटीलाई अंक लिनबाट रोकेमा र लिभरपुलले आफ्नो खेल जितेमा फरक क्लब र भूमिकाबाट लिभरपुललाई मद्दत गर्न सक्छन् । तर यो सहज भने छैन ।
उपाधि भिडन्तसँगै चौथो स्थानको होड पनि रोमाञ्चक नै छ । ६८ अंकसहित चौथो स्थानमा रहेको टोटनहम भन्दा आर्सनल २ अंकले पछि छ । अन्तिम खेल आर्सनलले एभरटन विरुद्ध खेल्ने छ भने टोटेनहमको खेल रेलिगेसनमा रहेको नर्विच सिटीसँग छ । यसमा सायद टोटनहमको चौथो स्थानको सम्भावना बढी छ । तर, प्रिमियर लिगमा अहिले नै नतीजाको अपेक्षा गर्नु त्यति सान्दर्भिक नहोला । र, रह्यो अर्को प्रश्न, रेलिगेसन को । रेलिगेसनबाट बच्न बर्नलीले न्युकासल युनाइटेड र लिड्सले ब्रेन्टफोर्डको सामना गर्दैछन् । नर्विच र वाट्फर्ड रेलिगेसनमा परिसकेका छन् । अब बर्नली र लिड्समध्ये एक टिमको घटुवा हुने निश्चित छ ।
समान खेल खेलेका दुबै टिमको ३५ अंक छ । यदि बर्नली र लिड्सले आ–आफ्नो खेलमा एउटै नतीजा निकाले बर्नली प्रिमियर लिगमा सुरक्षित हुनेछ । लिड्स भने गोल अन्तरको आधारमा तल्लो डिभिजनमा झर्ने छ । अन्यथा जित्ने टिमको नै प्रिमियर लिग कायम रहनेछ । अर्को रोचक खेल भने युरोपा लिगका लागि हुने छ । जसमा म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम रहेका छन् ।
समान खेल खेलका युनाइटेड र वेस्ट ह्याम क्रमशः ५८ र ५६ अंकका साथ छैटौं र सातौं स्थानमा छन् । जसले आफ्नो खेल जित्छ उसैले छैटौं स्थानमा रहँदै युरोपा लिगमा प्रवेश गर्छ । जसका लागि युनाइटेडले क्रिस्टल प्यालेस र वेस्ट ह्यामले ब्राइटनको सामना गर्ने छ । आजका सबै खेल नेपाली समय अनुसार पौने ९ बजे हुँदैछ ।


प्रतिक्रिया